सङ्गीतकर्मी मुस्कान बलम्पाकीलाई अमेरिकामा ‘युथ आइकन अवार्ड’
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपाली सङ्गीतकर्मी मुस्कान बलम्पाकीलाई अमेरिकामा ‘युथ आइकन अवार्ड ‘ प्रदान गरिएको छ।
ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनले मगर समुदायको महान् सांस्कृतिक पर्व माघे सङ्क्रान्ति २०२६ को अवसरमा शनिवार ह्यारिसबर्गमा आयोजित कार्यक्रममा सङ्गीतकर्मी तथा संगीत शिक्षक मुस्कानलाई सो अवार्ड प्रदान गरिएको हो ।
अर्गनाइजेशनका अनुसार संगीत शिक्षण, सामाजिक संलग्नता र मगर समुदायप्रतिको उल्लेखनीय योगदानको कदर गर्दै मुस्कानलाई यो सम्मान प्रदान गरिएको हो।
‘संगीत शिक्षा, युवा पुस्तामा सकारात्मक सोच विकास, संस्कृतिको संरक्षण र समुदायप्रतिको निरन्तर समर्पणका कारण अवार्ड प्रदान गरिएको छ ।’ अर्गनाइजेशनले भनेको छ, ‘मुस्कान बलम्पाकीको योगदानले युवालाई सिर्जनशीलता, अनुशासन र सामाजिक जिम्मेवारीतर्फ प्रेरित गरेको छ।’
‘नेपालकै सबैभन्दा सुन्दर जिल्ला इलाममा जन्मिनु भएको व्यक्तित्व। इलामको सृजनशील त्यो समाजले उहाँको सृजनात्मक जीवनलाई यहाँसम्म बाँड्न सक्नु भएको छ। इलाम जिल्लाको माटो जस्तो कोमल छ उहाँको मन र इलाम जिल्लाको हावा पानी जस्तो स्वच्छ छवि भएको व्यक्तित्व हुनुहुन्छ।’ अवार्डका लागि स्टेजमा आमन्त्रण गर्दै अर्गनाइजेशनका सदस्य प्रजित रानाले भने ।
मुस्कानलाई ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनका अध्यक्ष नर बलम्पाकीले अवार्ड प्रदान गरेका थिए। त्यस पछि कार्यक्रममा उपस्थित अन्य विषेश अतिथिले पनि खादा ओढाएर सम्मान गरेका थिए।

नेपालको इलाम फुएतप्पामा जन्मिएर काठमाडौंमा उच्च शिक्षा लिएका मुस्कान पछिल्लो सात वर्ष देखि अमेरिकामा संगित शिक्षक हुन्। इलाम सँगै जोडिएको पाँचथरको दुर्गा उच्चमाविबाट एसएलसी उत्तीर्ण मुस्कानले त्रिभुवन विश्वविद्यालयबाट सङ्गीतमा स्नातकोत्तर गरेका छन्।
सङ्गीतप्रति उनको रुचि चार वर्षको उमेरदेखि नै सुरु भएको हो। उनका बुबा सारङ्गी वादक भएकाले पारिवारिक वातावरणमै संगीतको बीउ रोपिएको थियो। मुस्कानका अनुसार मादल उनको पहिलो बाजा हो।
उनले अमेरिकाको प्रतिष्ठित बर्कली कलेज अफ म्युजिक, बोस्टनबाट संगीतमा स्नातकोत्तर उपाधि हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरको औपचारिक संगीत शिक्षा प्राप्त गरेका व्यक्ति हुन्।
करिब २० वर्षदेखि संगीतलाई पेशा बनाउँदै आएका मुस्कान हाल अमेरिकाको पेन्सिल्भेनियामा बालबालिकालाई संगीत सिकाउने शिक्षकका रूपमा सक्रिय छन्।
मुस्कानले नेपाली भाषी विद्यार्थीहरूलाई मात्र होइन, गैर–नेपाली भाषी विद्यार्थीलाई पनि नेपाली तथा पश्चिमा संगीत सिकाउँदै आएका छन्। यस माध्यमबाट उनले नेपाली संगीत र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन योगदान पुर्याइरहेका छन्।
सम्मान ग्रहणपछि मुस्कानले छोटो मन्तव्य दिँदै यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै सङ्गीतमार्फत समाज र समुदायको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही कार्यक्रममा संस्कृतिविद् खर्का समाललाई ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनद्वारा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।

















