संस्कृतिविद् खर्का समाललाई ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनद्वारा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ मगर संस्कृतिको संरक्षणसँगै एक प्रेरणादायी व्यक्तित्व पूर्व प्रधानाध्यापक खर्का समाललाई ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनद्वारा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा शनिवार आयोजित मगर समुदायको भव्य सांस्कृतिक उत्सव माघे संक्रान्तिका अवसरमा सो अवार्ड प्रदान गरिएको हो।
समाल मगर जातिको भाषा र संस्कृतिको उत्थानमा लामो समय देखि सक्रिय छन्। नेपालमा टिमाई शरणार्थी शिविरमा ओएसिस एकेडेमीमा प्रधानाध्यापक समेत रहेका समाल मगर लिपिका शिक्षक हुन् ।
शिक्षा र सेवाको माध्यमबाट जीवन समर्पित गरेका समालले टिमाई शरणार्थी शिविरमा सयौँ विद्यार्थीको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
अमेरिकामा पुनर्वासपछि पनि उनको सामाजिक सेवा र मगर समुदायप्रतिको योगदान निरन्तर रहँदै आएको छ।
समाललाई माघे सङ्क्रान्तिको अवसरमा आयोजित भव्य कार्यक्रममा ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेनशका अध्यक्ष नर बालम्पाकीले अवार्ड प्रदान गरे।

‘यो पुरस्कार नेपालको टिमाई शरणार्थी शिविरमा रहेको ओएसिस एकेडेमीको प्रधानाध्यापकको रूपमा तपाईँको धेरै वर्षको समर्पित सेवाको सम्मानमा प्रदान गरिएको हो, जहाँ तपाईँको नेतृत्व, शिक्षाप्रतिको प्रतिबद्धता र करुणाले अनगिन्ती विद्यार्थी र परिवारहरूको जीवनलाई आकार दियो। संयुक्त राज्य अमेरिकामा तपाईँको पुनर्वास पछि, समाजप्रति तपाईँको निरन्तर सेवा र मगर समुदायप्रति तपाईँको अटुट योगदान जीवनभर समर्पण र निस्वार्थ नेतृत्वको साँचो उदाहरणको रूपमा खडा छ।’ समाललाई दिइएको सम्मान पत्रमा उल्लेख छ।
अर्गनाइजेशनका सदस्य प्रजित रानाले समाल जीवनमा प्रेरणाका पाठ सिकाउने व्यक्ति भएको बताए।
‘हजार पन्ध्र सयको जागिरमा आफ्नो समाजलाई सेवा गर्नु भएको व्यक्ति हुनुहुन्छ। यस्तो अभियन्ता हुनुहुन्छ उहाँ जसले नेपाली र मगर भाषा कला र संस्कृतिको लागि जीवनभर अगाडि बढिरहनु भयो।’ समाललाई अवार्ड ग्रहणका लागि मञ्चमा बोलाउँदै गर्दा रानाले भने, ‘उहाँ यस्तो अभिभावक हुनुहुन्छ जसले जीवनमा प्रेरणाका मात्रै पाठ हामीलाई सिकाउनु भयो ।’
समाललाई कार्यक्रममा उपस्थित अन्य विषेश अतिथिहरूले पनि खादा लगाएर सम्मान गरेका थिए।
अवार्ड प्राप्त पछि समालले आफूले गरेको कामको समुदायले मूल्याङ्कन गरेको भन्दै खुसी व्यक्त गरे।
‘यो मेरो सौभाग्य हो र यो आयोजक समितिलाई पनि म धन्यवाद दिन चाहन्छु।’ समालले भने,’ र मलाई यो जीवन भएको उपलब्धि पुरस्कार पाउँदा मलाई अत्यन्तै सम्मानित र कृतज्ञ महसुस भइरहेको छ।’
उनले अमेरिका सरकारलाई पनि धन्यवाद दिए।
‘आज यो अमेरिका जस्तो एउटा महान् महादेशमा आएर यो कार्यक्रम गर्नु, यो सफल पार्नुमा यहाँको अमेरिकाको सरकारलाई सर्वप्रथम धन्यवाद दिनु चाहन्छु। किनभने यो यसरी स्वतन्त्र रूपले सबै जातजातिहरूले आफ्नो परम्परागत एउटा आफ्नो संस्कृतिलाई अगाडि बढाउनको लागि जस्तो अनुमति दिनुहुन्छ उहाँलाई यो धन्यवाद जान्छ। भनौँ कि अमेरिका सरकार पहिला धन्यवाद।’
आयोजक संस्थाका अनुसार, यो सम्मान केवल एक व्यक्तिलाई होइन,सेवा, त्याग र नेतृत्वको संस्कृतिलाई सम्मान गर्ने प्रयास हो।
माघे सङ्क्रान्तिको अवसरमा गरिएको यो सम्मान कार्यक्रम मगर समुदायको एकता, पहिचान र भावी पुस्ताप्रतिको प्रतिबद्धताको सशक्त उदाहरण बनेको छ।
सोही कार्यक्रममा सङ्गीतकर्मी मुस्कान बलम्पाकीलाई अमेरिकामा ‘युथ आइकन अवार्ड’ प्रदान गरिएको थियो।

















