पेन्सिलभेनियामा प्रोपर्टी ट्याक्स र भाडा रिबेट कार्यक्रम सुरु, हजारौँ नागरिकलाई ठूलो राहत
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले योग्य नागरिकहरूका लागि प्रोपर्टी ट्याक्स, भाडा रिबेट (पीटिआरआर) अर्थात सम्पत्ति कर, घरभाडा कार्यक्रममा आवेदन प्रक्रिया सुरु भएको घोषणा गरेका छन् ।
पेन्सिलभेनिया राजस्व विभागका अनुसार सन् २०२५ मा तिरेको सम्पत्ति कर वा घरभाडाका लागि आवेदन दिन सकिने बताइएको छ ।
यस कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिक, श्रीमान् वा श्रीमती गुमाएका मानिसहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्य राखेको छ । हालै गरिएको विस्तारपछि अधिकतम रिबेट रकम ६ सय ५० डलरबाट बढाएर १ हजार पु¥याइएको छ ।
यस परिवर्तनका कारण रिबेटका लागि आवेदन दिन सकिने इन्कम सीमा ४८ हजार ११० डलर पुगेको छ । जुन गत वर्षको तुलनामा १५ सय डलर भन्दा बढीले वृद्धि भएको हो ।
गभर्नर शापिरोले यो कार्यक्रमलाई पछिल्ला दुई दशकमा ज्येष्ठ नागरिकहरूका लागि गरिएको सबैभन्दा ठूलो लक्षित कर कटौतीको रूपमा वर्णन गरेका छन् ।
गभर्नर शापिरोले भने, “म गर्वका साथ भन्न चाहन्छु कि प्रोपर्टी ट्याक्स, भाडा रिबेट कार्यक्रमको विस्तार हाम्रो पहिलो कार्यान्वयन गरिएको कर कटौतीहरूमध्ये एक हो । यसले करिब दुई दशकयताकै ज्येष्ठ नागरिकहरूका लागि गरिएको सबैभन्दा ठूलो लक्षित कर कटौती प्रतिनिधित्व गर्दछ,”
(पीटिआरआर) कार्यक्रम शापिरो प्रशासनअन्तर्गत भएका सात कर कटौतीमध्ये एक हो । यसै क्रममा लागू गरिएको वर्किङ पेन्सिलभेनिया ट्याक्स क्रेडिठले करिब ९ लाख ४० हजार नागरिकलाई १ सय ९३ मिलियन कर राहत दिने अपेक्षा गरिएको छ ।
राजस्व विभाग सचिव प्याट ब्राउनले भने, “राजस्व विभागमा रहेको हाम्रो टोलीले प्रोपर्टी ट्याक्स,भाडा रिबेट कार्यक्रमको विस्तारले रिबेट प्राप्त गर्ने पेन्सिलभेनियावासीहरूको जीवनमा कति ठूलो फरक पारेको छ भन्ने कुरा दैनिक रूपमा प्रत्यक्ष देखिरहेको छ,”
“कार्यक्रम विस्तार भएपछि हजारौँ थप बासिन्दाहरूले रिबेट प्राप्त गरेका छन्, जसले बढ्दो जीवनयापन खर्चको बोझ कम गर्न मद्दत गरेको छ । यो कार्यक्रम मानिसहरूलाई आफ्नै घरमा बसिरहन र आर्थिक स्थायित्व कायम राख्न आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । यदि तपाईं आफू योग्य हुन सक्नुहुन्छ जस्तो लाग्छ भने, अहिले नै आवेदन दिने समय हो-यो रिबेटले तपाई र तपाईको परिवारका लागि साँच्चिकै ठूलो फरक पार्न सक्छ ।”, ब्राउनले भने ।
राजस्व विभागका अनुसार अहिलेसम्म सन् २०२४ का लागि ५ लाख ११ हजारभन्दा बढी रिबेट आवेदन प्रक्रिया भइसकेको बताइएको छ । जसको कुल रकम ३ सय १३ मिलियन डलर पुगेको छ । सन् २०२३ मा भने ५ लाख २२ हजारभन्दा बढी नागरिकले ३ सय १९ मिलियन डलर भन्दा बढी रिबेट पाएका थिए ।
सन् २०२५ का लागि रिबेट आवेदन दिने अन्तिम मिति आगामी जुन ३०, २०२६ सम्म तोकिएको छ ।

















