टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाइ गरेको हो ।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरूपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताएका छन् ।
उनले भने, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनु होला, कहिले काही सानो सानो कुराले हामी पछाडि पर्ने गरेका छौ । तपाईँहरूमा भएको एकरूपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’
यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुँदा खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिएका छन् ।
उनले भने, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढी आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरू निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरूमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईँहरूलाई हेर्ने हो । खेलमा तपाईँहरूको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चाहन्छु किनभने खेल त्यति सजिलो छैन् ।’
साथै, राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताए । टोली भोलि भारत प्रस्थान गर्दैछन् ।

















