आठौँ महिनासम्म सीमा क्षेत्रमा शून्य ‘रिलिज’, अमेरिकी सीमामा अवैध प्रवेशमा ऐतिहासिक न्यून तथ्याङ्क
वासिङ्टन / यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) अन्तर्गत यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले डिसेम्बर २०२५ र आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिकको सीमा सुरक्षा तथ्याङ्क सार्वजनिक गरेको छ।
डीएचएसद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख तथ्यांकअनुसार, लगातार आठौँ महिनासम्म अमेरिकी सीमा क्षेत्रमा पक्राउ परेकामध्ये कसैलाई पनि रिहा नगरिएको र अवैध प्रवेशका घटना ऐतिहासिक रूपमै न्यून स्तरमा पुगेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प को सीमा सुरक्षा नीतिअन्तर्गत यो उपलब्धि हासिल भएको डीएचएसले जनाएको छ।
डीएचएसका सचिव क्रिस्टि नोएम ले यो उपलब्धिलाई असाधारण भनेकी छिन्।
“राष्ट्रपति ट्रम्पको नेतृत्व र डीएचएस अन्तर्गतका सुरक्षाकर्मीहरूको मेहनतका कारण आज अमेरिकी सीमा इतिहासकै सबैभन्दा सुरक्षित अवस्थामा पुगेको छ। एकै वर्षमा हासिल गरिएका यी उपलब्धि असाधारण छन्।” नोएमले भनिन्।
यस्तै सीबीपी आयुक्त रोड्नी स्कट का अनुसार सीबीपीका एजेन्ट र अधिकृतहरूले सीमा सुरक्षामा नयाँ मापदण्ड स्थापना गरेका छन्। उनीहरूको प्रतिबद्धता र कडाइका कारण यस्ता ऐतिहासिक नतिजा सम्भव भएका हुन्।
सीमा क्षेत्रमा ऐतिहासिक न्यून अवैध प्रवेश
सीबीपीका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा देशभर जम्मा ९१,६०३ मात्र सीमाबाट अवैध रूपमा प्रवेश गर्न खोज्दा रोकिने घटनाहरू दर्ता भए, जुन अघिल्ला सबै आर्थिक वर्षहरूको तुलनामा सबैभन्दा कम हो। यो संख्या सन् २०१२ को अघिल्लो न्यूनतम रेकर्डभन्दा पनि २५ प्रतिशत कम हो।
दक्षिण–पश्चिम सीमामा मात्र २१,८१५ जना पक्राउ परेका छन्, जुन बाइडेन प्रशासनकालको औसतभन्दा ९५ प्रतिशत कम भएको डीएचएसको विज्ञप्तिमा उल्लेख छ।
डिसेम्बर २०२५ मा मात्र:
देशभर ३०,६९८ मुठभेड दर्ता भए, जुन बाइडेन प्रशासनकालको उच्चतम बिन्दुभन्दा ९२ प्रतिशत कम हो । दक्षिण–पश्चिम सीमामा ६,४७८ जना मात्र पक्राउ परेको जनाइएको छ।
दैनिक औसत २०९ जना मात्र पक्राउ परेको डीएचएसको विज्ञप्तिमा उल्लेख छ।
यस्तै कानुनी प्रक्रिया पूरा नहुँदै अस्थायी रूपमा रिहा गरिएका व्यक्तिको संख्या शून्य रहेको जनाइएको छ। जबकि डिसेम्बर २०२४ मा ७,०४१ जना रिहा गरिएका थिए ।
लागु औषध नियन्त्रणमा ठूलो सफलता
सीबीपीले सीमाबाट अवैध लागु औषध ओसारपसार रोक्न उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। डिसेम्बर २०२५ मा मात्र देशभर ३९,०३० पाउन्ड अवैध लागु औषध बरामद गरिएको छ।
बरामद परिमाणमाहरुमा फेन्टानिल: ८६५ पाउन्ड, मेथाम्फेटामिन: १२,८३३ पाउन्ड, कोकेन: ३,७९३ पाउन्ड, हेरोइन: १६४ पाउन्ड र गाँजा १४,४४५ पाउन्ड रहेको जनाइएको छ।
सीबीपीका अनुसार यी बरामदले हजारौँ अमेरिकी जीवन जोगाउन मद्दत पुगेको छ।
कर कार्यान्वयन र आर्थिक सुरक्षा
सीमा सुरक्षासँगै सीबीपीले अमेरिकी आर्थिक सुरक्षामा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको डीएचएसले जनाएको छ।
‘ट्रम्प प्रशासनले लागू गरेका ४२ वटा राष्ट्रपति स्तरीय कर नीतिहरू कार्यान्वयन गर्ने जिम्मा सीबीपीको छ।’ विज्ञप्तिमा भनिएको छ।


















