ट्रम्प प्रशासनको कडा आप्रवासन नीति : २०२५ मा भिसा प्रतिबन्ध १५० प्रतिशतले वृद्धि
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले अमेरिकामा आप्रवासनसम्बन्धी कडाइलाई तीव्र बनाउँदै वैधानिक रूपमा देश प्रवेश गर्ने मार्गहरूमा थप प्रतिबन्ध लगाइरहेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन एजेन्डाका कारण गत वर्ष अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारहरूका १ लाखभन्दा बढी भिसा रद्द गरिएको जनाएको छ ।
विदेश मन्त्रालयले जनवरी १२ तारिखमा सामाजिक सञ्जाल एक्समा आप्रवासन कडाइसम्बन्धी उपलब्धि सार्वजनिक गरेको थियो ।
मन्त्रालयले भन्यो, “विदेश मन्त्रालयले हालसम्म १ लाखभन्दा बढी भिसा रद्द गरिसकेको छ, जसमा करिब ८ हजार विद्यार्थी भिसा र २५सय विशेष सीप भएका व्यक्तिका भिसा छन्, जो आपराधिक गतिविधिका कारण अमेरिकी कानुन कार्यान्वयन निकायसँग सम्पर्कमा आएका थिए ।”
“अमेरिकालाई सुरक्षित राख्न हामी यस्ता अपराधीहरूलाई देश निकाला गर्ने कार्य जारी राख्नेछौँ।”, विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
हालका महिनाहरूमा अमेरिकामा आप्रवासन कार्यान्वयन झनै कडा भएको छ । सन् २०२५ को नोभेम्बरमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका सदस्यको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै अन्य देशबाट आउने आप्रवासनको स्थायी रूपमा रोक्ने घोषणा गरेका थिए ।
उनले “गैर–नागरिकहरू” लाई दिइने सबै सङ्घीय लाभ र अनुदान अन्त्य गर्ने, घरेलु शान्ति भङ्ग गर्ने आप्रवासीहरूको नागरिकता खारेज गर्ने तथा आफ्नो प्रशासनले सार्वजनिक बोझ, सुरक्षा जोखिम भएका विदेशी नागरिकहरूलाई देश निकाला गर्ने बताएका थिए ।
सन् २०२५ मा विदेश मन्त्रालयले १ लाखभन्दा बढी विदेशी भिसा रद्द गरेसँगै ट्रम्प प्रशासनको अहिलेसम्मकै उच्च सङ्ख्या हो । सन् २०२४ को तुलनामा १ सय ५० प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा करिब ४० हजार भिसा रद्द गरिएको थियो ।
गत महिना डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस)ले जनवरीदेखि हालसम्म २५ लाखभन्दा बढी अवैध आप्रवासीहरूले अमेरिका छोडेको घोषणा गरेको थियो ।
त्यस्तै विदेश मन्त्रालयले जनवरी १४ तारिखमा घोषणा गर्दै ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको थियो । यो नियम यही जनवरी २१ तारिखदेखि लागू हुनेछ ।


















