आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप : भारतले अमेरिकालाई हरायो, वेष्ट इन्डिजको सहज जित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ जिम्बाबे र नामिबियामा जारी आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२६ को उद्घाटन दिन वर्षाले प्रभावित बने पनि भारत र वेष्ट इन्डिजले आ आफ्नो खेल जितेका छन्। जिम्बाब्वे र स्कटल्यान्डबीचको खेल भने एक बल पनि नखेली वर्षाका कारण रद्द भयो।
बुलावायोमा भएको खेलमा भारतले अमेरिकालाई डकवर्थ–लुईस (डीएलएस) का आधारमा ६ विकेटले पराजित गर्यो।
भारत सुरुवाती दबाबमा परे पनि अन्ततः खेल आफ्नो पक्षमा पार्न सफल भयो। यसअघि ब्याटिङ गरेको अमेरिकालाई भारतले ३५.२ ओभरमा १०७ रनमै समेटेको थियो।
अमेरिकी टोलीका लागि नितिश सुदिनीले ३६ रनको संघर्षपूर्ण इनिङ्स खेले। भारतका हेनिल पटेलले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए।
जवाफी ब्याटिङमा भारतले वर्षाका कारण संशोधित लक्ष्य ३७ ओभरमा ९६ रन पाएको थियो। तर भारतले २५ रनमै ३ विकेट गुमाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।
त्यसपछि अभिग्यान कुन्डु र विहान मल्होत्राले चौथो विकेटका लागि ४५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। कुन्डुले अविजित ४२ रन बनाउँदै भारतलाई जिततर्फ डोर्याए। उनले १८औँ ओभरमा सिधा छक्का प्रहार गर्दै खेल समाप्त गरे।
उता नामिबियाको विन्डहोकमा भएको अर्को खेलमा वेष्ट इन्डिजले डेब्यु टोली तान्जानियालाई ५ विकेटले हरायो। विश्वकपमा पहिलोपटक सहभागिता जनाएको तान्जानियाले पहिले ब्याटिङ गर्दै ३४ ओभरमा १२२ रन बनायो। डिलन ठाक्रारले २६ र दर्पण जोबनपुत्राले १९ रन जोडे। वेष्ट इन्डिजका भिटेल लजले ३ विकेट लिए भने मिकाह म्याकेन्जी र शाक्वान बेल्ले दुई–दुई विकेट लिए।
जवाफमा वेष्ट इन्डिजले २१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। तानेज फ्रान्सिसले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने ज्वेल एन्ड्र्यूले ४४ रन जोडे। अन्त्यतिर केही विकेट गुमे पनि शमार एप्पलले २१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।
उता हरारेमा सह–आयोजक जिम्बाब्वे र स्कटल्यान्डबीचको खेल लगातारको वर्षाका कारण एक बल पनि नखेली रद्द भयो। अब जिम्बाब्वेले जनवरी १८ मा इङ्ल्यान्डसँग खेल्नेछ भने स्कटल्यान्डले जनवरी १९ मा पाकिस्तानको सामना गर्नेछ।
आईसीसी यू–१९ विश्वकपको पहिलो दिन नै रोमाञ्चक खेल, अप्रत्याशित चुनौती र मौसमको असर देखिँदा प्रतियोगिता अझ चासोपूर्ण बन्ने संकेत देखिएको छ।















