आज ११ औँ राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । आज ११ औँ राष्ट्रिय योग दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी योग दिवस मनाइँदैछ । यस वर्ष ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’भन्ने नाराका साथ योग दिवस मनाइरहेको छन् ।
विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।
आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोध:’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ ।

















