फिफा विश्वकप २०२६ का लागि ५० करोडभन्दा बढी टिकट आवेदन, विश्व खेलकुदमै नयाँ कीर्तिमान
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / फिफा विश्वकप २०२६ प्रति विश्वभर अभूतपूर्व उत्साह देखिएको छ। फिफाले जनाएको अनुसार, र्यान्डम सेलेक्सन ड्रअ अन्तर्गतको टिकट बिक्री चरणमा ५० करोडभन्दा बढी टिकटका लागि आवेदन दर्ता भएका छन्। उक्त आवेदन प्रक्रिया सन् २०२५ डिसेम्बर ११ देखि २०२६ जनवरी १३ सम्म ३३ दिन सञ्चालन भएको थियो।
फिफाका २११ सदस्य संघ अन्तर्गत पर्ने सबै देश तथा क्षेत्रबाट आवेदन प्राप्त भएको फिफाले जानकारी दिएको छ। प्रत्येक आवेदन क्रेडिट कार्ड विवरणमार्फत प्रमाणीकरण गरिएको हुँदा औसतमा प्रतिदिन करिब १ करोड ५० लाख टिकट अनुरोध दर्ता भएको फिफाको तथ्यांकमा उल्लेख छ। ४८ टोली सहभागी हुने पहिलो विश्वकप भएकाले यस प्रतियोगिताप्रति विश्वव्यापी आकर्षण झन् व्यापक बनेको फिफाको भनाइ छ।
आयोजक राष्ट्रहरू संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा बाहेक सबैभन्दा धेरै आवेदन जर्मनी, इङ्ल्यान्ड, ब्राजिल, स्पेन, पोर्चुगल, अर्जेन्टिना र कोलम्बियाबाट आएका छन्। यस चरणमा सबैभन्दा बढी माग भएको खेल जुन २७ मा मियामीमा हुने कोलम्बिया र पोर्चुगल को खेल रहेको छ। त्यसपछि ग्वाडालाजारामा हुने मेक्सिको र कोरिया गणतन्त्र, न्युयोर्क–न्युजर्सीमा हुने फाइनल खेल, मेक्सिको सिटीमा हुने उद्घाटन खेल तथा टोरन्टोमा हुने राउन्ड–३२ को खेल शीर्ष माग भएका खेलमा परेका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आधा अर्ब टिकट अनुरोधलाई “विश्वव्यापी फुटबल प्रेमको ऐतिहासिक अभिव्यक्ति” भन्दै समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले सबै समर्थकलाई रंगशालामा समेट्न सम्भव नभए पनि रंगशालाबाहिर र डिजिटल माध्यममार्फत विभिन्न फ्यान अनुभव उपलब्ध गराइने बताएका छन्।
आवेदन अवधि समाप्त भएसँगै फिफा टिकटिङले अब आवेदनको योग्यता तथा घरपरिवार सीमा जाँच गर्नेछ। माग उपलब्ध टिकटभन्दा बढी भएको अवस्थामा निष्पक्षता सुनिश्चित गर्न र्यान्डम सेलेक्सन प्रक्रिया मार्फत टिकट बाँडफाँट गरिनेछ। टिकट आवेदनको नतिजा फेब्रुअरी ५ पछि इमेलमार्फत जानकारी गराइने फिफाले जनाएको छ। पूर्ण वा आंशिक रूपमा सफल आवेदकको खाताबाट टिकट शुल्क स्वतः काटिनेछ।
यस चरणमा टिकट नपाउने समर्थकहरूका लागि प्रतियोगिता नजिकिँदै गर्दा खुल्ने लास्ट–मिनेट सेल्स चरण मा पुनः टिकट खरिद गर्ने अवसर रहनेछ, जहाँ टिकट ‘पहिले आउनेलाई पहिले’ आधारमा बिक्री गरिनेछ। फिफाले टिकट खरिदका लागि FIFA.com/tickets नै आधिकारिक माध्यम भएको स्पष्ट पारेको छ।
फिफाले टिकटले मात्र आयोजक देशमा प्रवेशको ग्यारेन्टी नदिने उल्लेख गर्दै क्यानडा, मेक्सिको र अमेरिकाको भिसा प्रक्रिया समयमै सुरु गर्न समर्थकहरूलाई आग्रह गरेको छ। अमेरिकातर्फ यात्रा गर्ने टिकटधारकहरूका लागि फिफा प्राथमिकता नियुक्ति तालिका प्रणाली (फिफा पास) पनि छिट्टै लागू हुने जनाएको छ।
नाफारहित संस्था फिफाले विश्वकपबाट आर्जित आम्दानीको ९० प्रतिशतभन्दा बढी रकम विश्वभर फुटबल विकासमा पुनः लगानी गर्ने जनाएको छ।


















