अमेरिकाले ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्यो – नेपालीलाई कस्तो प्रभाव?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो सूचीमा नेपालको नाम पनि छ।
नेपालसहित ७५ राष्ट्रका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित
अधिकारीहरुले यो निर्णय जनवरी २१ तारिख देखि लागु हुने बताएका छन्।
न्यू योर्कमा रहेर लामो समय देखि कानुन व्यवसाय गर्दै आएका बासु फुलारा यसको प्रभाव नेपाली नागरिकहरूमा पनि प्रत्यक्ष रूपमा पर्ने बत्ताउँछन्।
‘सरकारले सरकारी सुविधाको बोझ कम गर्न हाल कायम नै रहेको पब्लिक चार्ज कानुनलाई कडाइ गर्न खोजेको देखिन्छ।’ समाज टाइम्स सँगको संक्षिप्त कुराकानीमा फुलाराले भने, ‘अमेरिकाको आप्रवासन नीतिअन्तर्गत लिइएको यो निर्णयले रोजगारी, पारिवारिक पुनर्मिलन तथा स्थायी बसोबासको सपना देखिरहेका हजारौँ नेपालीलाई प्रभाव पार्ने छ।’
अमेरिकी प्रशासनले “पब्लिक चार्ज” अर्थात् सरकारी सुविधामा निर्भर हुन सक्ने आवेदकलाई प्राथमिकताका आधारमा रोक्ने नीति कडाइका साथ लागू गर्न खोजेको जनाएको छ।
यद्यपि अमेरिकी सरकारले आधिकारिक रूपमा देशहरूको पूर्ण सूची सार्वजनिक नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र कूटनीतिक स्रोतहरूका अनुसार नेपाल पनि प्रभावित सूचीमा परेको देखिन्छ।
कानुन व्यवसायी फुलाराका अनुसार यस निर्णयको सबैभन्दा ठूलो असर अमेरिकामा परिवारका सदस्यलाई बोलाउने प्रक्रियामा रहेका नेपालीहरूलाई हुने छन्।
‘स्थायी बसोबास (ग्रिन कार्ड) सम्बन्धी भिसा रोकिँदा वर्षौँदेखि छुट्टिएर बसेका परिवार पुनर्मिलनको प्रतीक्षामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले भावनात्मक मात्र होइन, आर्थिक रूपमा पनि नेपाली परिवारहरूलाई असर पुर्याउने देखिन्छ।’ उनले भने।
त्यसो त अस्थायी भ्रमण, व्यापार वा परिवार भेटघाटका भिसामा समेत प्रक्रिया झन्झटिलो बन्दै गएको छ।
केही अवस्थामा आर्थिक धरौटी राख्नुपर्ने व्यवस्था थपिँदा साधारण नेपालीका लागि अमेरिका यात्रा अझ महँगो र जटिल बन्दै गएको छ। यसले नेपाली समुदायमा अमेरिका अब सहज गन्तव्य नरहने हो कि भन्ने चिन्ता बढाएको छ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायमा पनि यस नीतिले असुरक्षाको भावना बढाएको छ। नयाँ नियम र कडाइले भविष्यमा भिसा नवीकरण, स्टाटस परिवर्तन वा परिवार बोलाउने प्रक्रियामा समस्या आउने डर उनीहरूमा देखिन्छ।
अमेरिकी सरकारले यो रोक अस्थायी भएको बताए पनि कहिलेसम्म लागू रहने भन्ने स्पष्ट समयसीमा तोकेको छैन। त्यसैले भिसा आवेदन गर्ने तयारीमा रहेका नेपाली नागरिकहरूलाई अमेरिकी दूतावास र आधिकारिक सूचनाहरू नजिकबाट निगरानी गर्न विज्ञहरूले सुझाव दिएका छन्।
समग्रमा, अमेरिकाको नयाँ भिसा नीति परिवर्तनले नेपाली कामदार, परिवार र आप्रवासी समुदाय सबैलाई प्रत्यक्ष असर पारिरहेको छ। अमेरिका आउने सपना बोकेका नेपालीका लागि यो निर्णय केवल प्रशासनिक विषय नभई जीवनको योजनामै प्रभाव पार्ने गम्भीर विषय बनेको छ।


















