नेपालसहित ७५ राष्ट्रका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको घोषणा गरेको छ ।
अमेरिकामा बसोबास गर्दा सार्वजनिक सहायता आवश्यक पर्ने सम्भावना भएका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको जनाएको हो ।
विदेश मन्त्रालयका अनुसार गत नोभेम्बरमा जारी गरिएको आदेशअनुसार “सार्वजनिक बोझ” अर्थात (पब्लिक चार्ज) बन्न सक्ने सम्भावित आप्रवासीहरूलाई लक्षित गर्दै नियमहरू कडा बनाएको थियो । साथै ७५ देशहरूका नागरिकका लागि आप्रवासी भिसा आवेदन रोक्न कन्सुलर अधिकारीहरूलाई निर्देशन दिइएको हो ।
यद्यपि, पर्यटक वा व्यवसायजस्ता अस्थायी (गैर–आप्रवासी) भिसामा यो स्थगन लागू नहुने बताइएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग गर्ने प्रयास गर्ने र अमेरिकी जनताबाट आर्थिक लाभ निकाल्न चाहनेहरू विरुद्ध अन्त्य गर्दैछ।”
“सार्वजनिक सहायता तथा कल्याणकारी सुविधाहरू लिने विदेशी नागरिकहरूको प्रवेश रोक्न आप्रवासन प्रक्रिया पुनः मूल्याङ्कन गरिँदै गर्दा यी ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो।”, विज्ञप्तिमा थप भनिएको छ ।
यसैबिच कानुन व्यवसायी बासु फुलाराले सरकारी सुविधा बढी लिने जोखिम भएका देशका नागरिकका लागि भइरहेको कानुनलाई सक्रिय बनाउन खोजिएको हुन सक्ने बताए ।
फुलाराले भने, ’अमेरिकी सरकारले भिसा प्रक्रिया रोक्ने निर्णय भिसा आवेदनकर्ताहरूले सरकारी लाभमा निर्भर हुन सक्छन् भनी रोक्न खोजिएको हुन सक्छ । “पब्लिक चार्ज” लाई अझ कडा बनाउन खोजेको देखिन्छ।’
’सरकारी सुविधा धेरै लिने उच्च जोखिम भएकामा नेपाललाई पनि राखेको छ । तर यसमा भिजिटर भिषाका लागि लागु हुँदैन ।’, उनले बताए
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसहित ७५देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको बताएका छन् ।
ट्रम्प प्रशासनले यसअघि नै अफ्रिकाका धेरै देशहरू सहित दर्जनौँ देशका नागरिकका लागि आप्रवासी तथा गैर–आप्रवासी भिसा प्रक्रिया कडा रूपमा सीमित गरिसकेको थियो ।
निर्देशनअनुसार, अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूलाई जनवरी २१ देखि भिसासम्बन्धी निर्णय रोक्न भनिएको जनाएको हो । यस अवधिमा विभागले विद्यमान आप्रवासन कानुन अन्तर्गत आफ्नो जाँच प्रक्रिया पुनः मूल्याङ्कन गर्नेछ ।
यस स्थगनबाट प्रभावित देशहरूमा नेपाल सहित, सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड र यमन लगायतका देशहरू रहेका छन्। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा आप्रवासन नीतिमा भइरहेको व्यापक परिवर्तन र सार्वजनिक बोझसम्बन्धी नियमहरूमा कडाइसँग जोडिएको छ ।
किन यो विषय महत्त्वपूर्ण छ ?
सूचीमा रहेका केही देशहरू पहिले नै भिसा प्रतिबन्ध वा सीमिततामा परेका छन् । दर्जनौँ नयाँ देशहरूमा भिसा रोक लगाइनुले अमेरिका भ्रमण वा काम गर्न चाहने विदेशी नागरिकहरूमा ठूलो प्रभाव पार्नेछ ।
ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका लागि परिचित छन् । उनले आफ्नो पहिलो कार्यकालमा पनि, विशेष गरी कोभिड–१९ महामारीको समयमा, यस्तै प्रकारका प्रतिबन्धहरू लागू गरेका थिए ।
के थाहा हुन आवश्यक छ ?
अमेरिकी विदेश मन्त्रालय अमेरिकाबाहिर रहेका सम्भावित आप्रवासीहरूको भिसा जाँच तथा प्रक्रिया पूरा गर्ने जिम्मेवार निकाय हो ।
पछिल्लो १२ महिनामा दूतावास र वाणिज्य दूतावासका अधिकारीहरूलाई आवेदन प्रक्रिया परिवर्तन गर्न, सामाजिक सञ्जाल समेतको कडा निगरानी गर्न निर्देशन दिइएको थियो ।
भिसा जाँच प्रक्रियाको एक महत्त्वपूर्ण पक्ष भनेको कुनै व्यक्ति भविष्यमा सरकारमाथि आर्थिक बोझ पर्छ कि पर्दैन भन्ने मूल्याङ्कन हो र यसको अर्थ दीर्घकालीन स्वास्थ्य सेवा वा आर्थिक सहयोगका लागि राज्यले खर्च गर्नुपर्ने अवस्था आउँछ कि आउँदैन भन्ने हो ।
यही विषयमा विद्यमान नियमहरूको पुनरावलोकन भइरहेकाले ७५ देशका नागरिकका लागि भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो ।
अब के हुन्छ ?
भिसा प्रक्रिया रोक्ने निर्णय जनवरी २१ देखि लागू हुनेछ। यसबाट प्रभावित थप विवरणहरू आउँदा दिनमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।


















