अमेरिकाले सोमालियालाई दिँदै आएको (टिपीएस) अन्त्य गर्ने निर्णय
वासिङ्टन डिसी / युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले सोमालियालाई दिँदै आइरहेको टेम्पोरेरी प्रोटेक्टेट स्ट्याटस (टिपीएस) अन्त्य गर्ने घोषणा गरेकी छिन् ।
नोयमले आगामी मार्च १७ तारिखदेखि लागु हुने गरि सोमालियालाई प्रदान गरिएको (टिपीएस) खारेज गर्ने बताएकी हुन् ।
सचिव नोयमले भनिन्, “अस्थायी भनेको वास्तवमै अस्थायी नै हो । सोमालियाको अवस्था अहिले त्यस्तो स्तरमा सुधार भएको छ कि अब यसले (टिपीएस)का कानुनी मापदण्डहरू पूरा गर्दैन,”
“यसका साथै, सोमालियाका नागरिकहरूलाई अस्थायी रुपमा अमेरिकामा बस्न दिनु हाम्रो राष्ट्रिय हितको विपरीत छ । हामी अमेरिकन नागरिकहरुलाई पहिलो प्राथमिकतामा राख्दैछौ।”, उनले भनिन् ।
(टिपीएस) मान्यता समाप्त हुनु पहिले कम्तीमा ६० दिनअघि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सचिवले सम्बन्धित अमेरिकी सरकारी निकायहरूसँग परामर्श गरी उक्त देशको अवस्था पुनरावलोकन गर्नु पर्ने जनाइएको छ । साथै आवश्यक मापदण्डहरू अझै पूरा भइरहेका छन् भने कति समयका लागि म्याद थप्ने भन्ने निर्णय गर्नु पर्ने समेत बताइएको छ ।
(टिपीएस) बाहेक अन्य कुनै कानुनी हैसियत नभएका सोमालियाका नागरिकहरूले अमेरिका छोड्ने प्रक्रिया सुरु गर्न युएस कस्टम बोर्डर प्रोटेक्सनको (सिबीपि होम) मोबायल एप प्रयोग गर्न सक्ने बताइएको छ । यो एपबाट निःशुल्क हवाई टिकट, १ हजार अमेरिकी डलरको प्रस्थान बोनसका साथै भविष्यमा कानुनी आप्रवासनको सम्भावना समेत समावेश रहेको जनाएको छ ।

















