लमजुङ अमेरिका सेवा समाजमा सागर कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन
बाल्टिमोर, मेरिल्याण्ड/ लमजुङ अमेरिका सेवा समाजमा नयाँ कार्यसमिति चयन भएको छ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतबार सम्पन्न भेलाले सागर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो।
नयाँ कार्यसमितिलाई आइतबार नै कार्यभार हस्तान्तरण गरिएको छ। कार्यकाल हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष गणेश अधिकारीको सभापतित्वमा भएको थियो।
कार्यक्रममा सचिव प्रेम कमलीले सन् २०२३–२०२६ को कार्यकालमा भएका विविध गतिविधि तथा आय–व्यय विवरण प्रस्तुत गर्दै संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए।
सो अवसरमा समाजका वरिष्ठ सल्लाहकार प्रभु थापा, सल्लाहकार शसी थापा, लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा आगामी कार्यकालका लागि सागर कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको घोषणा गरिएको हो।
तत्कालका लागि ११ जना सदस्य चयन गरिएको र बाँकी २ जना पछि मनोनयन गरिने जनाइएको छ।
नव-निर्वाचित अध्यक्ष सागर कुँवरले लमजुङवासीबिचको एकता, सहकार्य र सेवा भावलाई अझ सुदृढ बनाउँदै संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
लमजुङ अमेरिका सेवा समाजले आगामी दिनमा सामाजिक सेवा, आपत्कालीन सहयोग तथा समुदाय सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरू
• अध्यक्ष: सागर कुँवर
• उपाध्यक्ष: कुम गुरुङ
• उपाध्यक्ष: प्रेम घिमिरे
• सचिव: प्रेम कमली
• कोषाध्यक्ष: स्वस्तिका घिमिरे
सदस्यहरू
• सुदीप अधिकारी
• सनोध कुँवर
• राजेन्द्र कुँवर
• विकाश कुँवर
• राजकुमार गैरे
• सन्जय थापा















