युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण प्रकरण : एनआरएनए अध्यक्षद्वयद्वारा मागे माफी
युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण प्रकरण : निर्णय सार्वजनिक भएदेखि माफीसम्म
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण सम्बन्धित विषय विवादित र आलोचित भए पछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष द्वयले माफि मागेका छन्।
मन्त्री गुप्ताको कार्यक्रमलाई लिएर एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका दुई समूहबाट सार्वजनिक भएका फरक–फरक विज्ञप्तिका कारण सञ्चार माध्यम तथा नेपाली समुदायमा उत्पन्न भ्रमप्रति एनआरएनए आईसीसीका अध्यक्षद्वयले क्षमायाचना गरेका हुन्।
एनआरएनए आईसीसी अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले शुक्रवार संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रीको अमेरिका भ्रमणसम्बन्धी विषयमा देखिएको अन्योलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबाट मन्त्री, सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको असहजता र भ्रमप्रति संस्थागत रूपमा माफी मागिएको छ।
विज्ञप्तिमा विकास उप्रेती नेतृत्वको एनआरएनए एनसीसी अमेरिकाले औपचारिक रूपमा युवा तथा खेलकुद मन्त्रीलाई कार्यक्रमका लागि आमन्त्रण गरेको स्पष्ट पारिएको छ। साथै, एनआरएनए भित्र विगतमा देखिएका आपसी असमझदारीहरू अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको र विभिन्न राष्ट्रिय समन्वय परिषद्हरू एकताको प्रक्रियामा सहभागी हुँदै गएको जानकारी पनि दिइएको छ।
यद्यपि, विकास उप्रेती नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिका र सत्येन्द्र शाह नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच आवश्यक आपसी समन्वयको अभावका कारण पछिल्लो अवस्था सिर्जना भएकोप्रति अध्यक्षद्वयले क्षमायाचना गरेका छन्।

विज्ञप्तिमा एनआरएनए नेपाली प्रवासी समुदायको प्रतिनिधि संस्था भएको उल्लेख गर्दै नेपालको बदलिँदो राजनीतिक तथा सामाजिक परिवेश, पछिल्लो पुस्ताको आन्दोलनपछि सिर्जित राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा नेपाल सरकारमा युवापुस्ताको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहेका मन्त्री बब्लु गुप्तालाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया तथा विचार–विमर्शका लागि औपचारिक रूपमा आमन्त्रण गरिएको जनाइएको छ।
उक्त कार्यक्रममार्फत विदेशमा रहेका नेपाली युवाहरूलाई नेपालको विकास प्रक्रियासँग थप सशक्त रूपमा जोड्ने उद्देश्य राखिएको र नेपालको पुनर्निर्माण तथा विकासमा प्रवासी युवाको भूमिकाबारे मन्त्रीको अनुभव, दृष्टिकोण तथा नीतिगत धारणा साझा गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
गैर आवासीय नेपाली संघले संस्थागत मर्यादा, पारदर्शिता तथा जिम्मेवार सञ्चारप्रति सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै आगामी दिनमा यस्ता अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय र सूचना प्रवाह प्रणालीलाई थप सुदृढ बनाइने प्रतिबद्धता जनाएको छ।
युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण प्रकरण : निर्णय सार्वजनिक भएदेखि माफीसम्म
मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण एकाएक विवादको केन्द्रमा पर्न पुग्यो। नेपाल सरकारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक भएदेखि लिएर एनआरएनएभित्र उत्पन्न विज्ञप्ति युद्धसम्म आइपुग्दा उक्त भ्रमणले राजनीतिक, प्रशासनिक र प्रवासी नेपाली समुदायबिच व्यापक चर्चा र अन्योल सिर्जना गर्यो।
गत जनवरी ६ तारिख सार्वजनिक नेपाल सरकारको मन्त्रीपरिषद् निर्णयहरूमा मन्त्री बब्लु गुप्ताज्यूको अमेरिका भ्रमण स्वीकृत गर्ने उल्लेख थियो। त्यस बारेमा समाज टाइम्सले यसरी समाचार प्रकाशित गरेको थियो।
खेलकुदमन्त्रीको अमेरिका भ्रमण मन्त्रीपरिषद्ले स्वीकृत गर्यो तर आयोजक को ?
कार्यक्रमको आयोजक को हो, कार्यक्रम कहाँ र कहिले हुने हो, तथा भ्रमणको औपचारिक कार्यसूची के हो भन्ने विषयमा स्पष्टता नहुँदै मन्त्रीपरिषद्ले भ्रमण स्वीकृत गरेको तथ्य बाहिर आएपछि प्रश्न उठ्न थाले।
नेपालका केही छापा माध्यमहरूले उक्त भ्रमणलाई लिएर अझ गम्भीर आरोपसमेत सार्वजनिक गरे। केही पत्रिकाहरूमा मन्त्रीको अमेरिका भ्रमणलाई मानव तस्करीको प्रयाससँग जोड्न खोजिएको आशयका समाचार प्रकाशित भए, जसले विवादलाई थप चर्कायो। यस्ता समाचारपछि सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया देखियो।
समाचारहरू सार्वजनिक भएपछि अमेरिकामा रहेका दुई फरक समूहमा विभाजित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका का तर्फबाट छुट्टाछुट्टै विज्ञप्ति जारी भए।


एक पक्षले मन्त्रीलाई आफूहरूले औपचारिक रूपमा आमन्त्रण गरेको दाबी गर्यो भने अर्को पक्षले त्यसप्रति आपत्ति जनाउँदै भ्रम सिर्जना गरिएको आरोप लगायो। ती विज्ञप्तिहरूमा कार्यक्रमको स्वामित्व, संस्थागत वैधता र प्रतिनिधित्वबारे फरक–फरक दाबी प्रस्तुत गरिएका थिए, जसले भ्रमलाई झन् गहिरो बनायो।
यही परिस्थितिपछि एनआरएनए आइसीसीका अध्यक्षद्वय डा. केसी र श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उत्पन्न भ्रमप्रति संस्थागत रूपमा माफी मागे।
यसैबिच, स्वयं मन्त्री बब्लु गुप्ताले पनि आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिका भ्रमणका लागि भिसा प्रक्रियासमेत सुरु नगरेको बताएका छन्। मन्त्रीको भनाइले भ्रमण तत्काल हुन लागेको होइन भन्ने संकेत गरेको छ।
राजनीतिक रूपमा पनि मन्त्री गुप्ता यसअघि एक पटक विवादमा परिसकेका व्यक्ति हुन्। उनी जेन्जी आन्दोलन पछिल्लो बनेको सरकारमा युवापुस्ताको प्रतिनिधित्व गर्ने मन्त्री मानिन्छन्। यसअघि भने दलीय संलग्नताको विषयलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले उनको राजीनामा मागेको खबर सार्वजनिक भएको थियो, जसले उनको राजनीतिक यात्रामा विवादको छायाँ पहिले नै परेको देखिन्छ।
समग्रमा, स्पष्ट कार्यसूची र औपचारिक तयारी बिना मन्त्रीपरिषद् निर्णय सार्वजनिक हुनु, सञ्चार माध्यममा आएका गम्भीर आरोप, गैर आवासीय नेपाली संघभित्रको आन्तरिक विभाजन र त्यसबाट जारी भएका परस्पर विरोधी विज्ञप्तिले युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण प्रकरणलाई विवादित बनाएको देखिन्छ।















