पेन्सिलभेनियाका गभर्नर शापिरोको पुनः निर्वाचन अभियान सुरु, २०२८ को राष्ट्रपतीय दौडतर्फ सङ्केत
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले आधिकारिक रूपमा आफ्नो पुनः निर्वाचन अभियान सुरु गरेका छन् ।
यो अभियान सन् २०२८ मा राष्ट्रपतिको दौडका लागि उनको आकाङ्क्षाको आधार बन्ने वा त्यसलाई रोक्ने कारक बन्न सक्ने विश्लेषण गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको अभियान भिडियोमा शापिरोले आफ्नो पहिलो कार्यकालमा आफूले ठोस काम सम्पन्न गरेको उल्लेख गरेका छन् ।
उनले फिलाडेल्फियामा भत्किएको पुलको तीव्र पुनर्निर्माणदेखि नयाँ कर छुटसम्मका उपलब्धिहरू प्रस्तुत गरेका थिए । उनले दोस्रो कार्यकालमा पनि काममा लाई निरन्तरता दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झन्डै दुई मिनेट तीस सेकेन्डको आकर्षक भिडियोमा सन् २०२६ का लागि डेमोक्र्याटहरूले उठाइरहेका मुख्य एजेन्डाहरू-रोजगारी विस्तार, जीवनयापन खर्च नियन्त्रण र गर्भपतन अधिकारको संरक्षण-लाई जोड दिइएको छ ।
गर्भनर शापिरोले बिहीवार पिट्सबर्ग र फिलाडेल्फियामा उपगभर्नर अस्टिन डेविससँगै हुने ¥यालीहरूमा मध्यावधि निर्वाचनको महत्व र डेमोक्र्याटिक पार्टीका लागि दाउ स्पष्ट पार्ने योजना बनाएको बताएका छन् ।
गभर्नरको यो निर्वाचनले शापिरो सन् २०२८ का लागि डेमोक्र्याटहरूको सम्भावित राष्ट्रपतीय उम्मेदवार बन्ने उनको मुख्य दाबी कत्तिको बलियो छ भन्ने निर्धारण गर्नेछ ।
देशकै सबैभन्दा ठुलो र निर्णायक ‘स्विङ स्टेट’ पेन्सिलभेनियामा ठुलो जित हासिल गर्न र तल्लो तहका डेमोक्र्याट उम्मेदवारहरूलाई समेत जित दिलाउने क्षमता रहेको बताइएको छ ।
५२ वर्षीय मध्यमार्गी डेमोक्र्याट शापिरोले करिब दुई दशक लामो राजनीतिक यात्रामा संसदीय सहयोगीदेखि महान्यायाधिवक्ता हुँदै राज्यको सर्वोच्च कार्यकारी पदसम्म पदभार सम्हालेका थिए ।
सन् २०२२ मा रिपब्लिकन नेता डग मास्ट्रियानोमाथि १५ प्रतिशत अंकको फराकिलो जितले उनको छवि थप बलियो बनाएको थियो ।
दलगत ध्रुवीकरण तीव्र रहेको यो समयमा पनि राज्यभित्र उनको लोकप्रियता दर असाधारण रूपमा उच्च छ । यही कारणले सन् २०२४ मा कमला ह्यारिसको उप राष्ट्रपतीय उम्मेदवारका रूपमा उनी छोटो सूचीमा परेका थिए ।
पेन्सिलभेनियामा आधारित डेमोक्र्याटिक रणनीतिकार जे.जे. एबोटले शापिरोले फेरि पनि ठुलो र महत्त्वपूर्ण स्विङ स्टेटमा भारी जित हासिल गर्न सके आगामी सन् २०२८ को राष्ट्रपतिको दौडका लागि त्यो उनको बलियो योग्यता हुने बताएका छन् ।
दोस्रो कार्यकालको अभियान सुरु गर्दा शापिरो देशकै १० सबैभन्दा लोकप्रिय गभर्नरमध्ये एकका रूपमा सूचीकृत छन् । पेन्सिलभेनिया राज्यभित्र पनि उनी अत्यन्त लोकप्रिय छन् ।
यस वर्ष शापिरो तल्लो तहका निर्वाचनमा पनि ठुलो राजनीतिक पुँजी खर्च गर्ने तयारीमा छन् ।
उनले सन् २०२७ मा प्रतिनिधि सभाको नियन्त्रण निर्धारण गर्न सक्ने चार वटा कंग्रेसको सिट डेमोक्र्याटहरूले उल्ट्याउन सक्रिय भूमिका खेल्ने योजना बनाएका छन् ।
डेमोक्र्याटहरूलाई ह्यारिसबर्गमा पूर्ण नियन्त्रण दिलाउन पनि उनको लोकप्रियताले मद्दत गर्ने अपेक्षा गरिएको छ । जसले सन् २०२८ अघि उनको नीतिगत एजेन्डालाई थप बलियो बनाउन सक्छ ।
शापिरोले राज्य डेमोक्र्याटिक पार्टीमा आफ्नो प्रभाव पनि मजबुत बनाएका छन् । पार्टीको संरचना र पहुँच विस्तारका लागि २ लाख ५० हजार डलर उपलब्ध गराएका छन् ।
शापिरोले निर्वाचन वर्षमा प्रवेश गर्दा आर्थिक रूपमा पनि बलियो स्थिति बनाएका छन् । सन् २०२५ मा मात्रै उनले २३ मिलियन डलर सङ्कलन गरेको बताइएको छ ।
अभियान घोषणा अघि अन्तिम तीन महिनामा उठाइएको १० मिलियन डलर पनि समावेश छ ।
हाल उनको अभियान कोषमा करिब ३० मिलियन डलर रहेको छ । उनको टोलीका अनुसार, गत वर्षको अन्त्यसम्ममा कुनै पनि पेन्सिलभेनियाका गभर्नर अभियानको तुलनामा उनले सबैभन्दा धेरै रकम सङ्कलन गरेका थिए ।















