एनआरएनए दुई अध्यक्षको संयुक्त आह्वान : जनवरी १६ भित्र सदस्यता बन्न आग्रह
काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का दुई अध्यक्षले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विश्वभर रहेका गैर आवासीय नेपालीहरूलाई आगामी जनवरी १६, २०२६ भित्र सदस्य दर्ता प्रणाली (एमआरएस ) मार्फत सदस्यता दर्ता तथा नवीकरण गर्न आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले बृहत् एकतापछि संघको सङ्गठनात्मक संरचना सुदृढ गर्ने क्रममा सदस्यता व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्।
सदस्यता प्रक्रिया पारदर्शी, व्यवस्थित र विवादरहित बनाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता तथा सहजीकरण समिति र सदस्यता व्यवस्थापन समिति सक्रिय रूपमा कार्यरत रहेको जनाइएको छ।
विज्ञप्तिमा यसअघि सदस्य सूचना प्रणाली (एमआइएस), उच्चस्तरीय समिति (एचएलसी) को पोर्टल तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले समानान्तर रूपमा सञ्चालन गरेका पोर्टलमार्फत सदस्यता लिएका वा नवीकरण गरेका सबै सदस्यहरूको विवरण प्रमाणीकरण गरी एउटै सदस्य दर्ता प्रणाली (एमआरएस )मा समायोजन गरिने स्पष्ट गरिएको छ।
संघले हालसम्म कुनै पनि माध्यमबाट सदस्यता नलिएका गैर आवासीय नेपालीहरूलाई पनि तोकिएको समय सीमाभित्र एमआरएस प्रणालीमार्फत अनिवार्य रूपमा सदस्यता दर्ता गर्न आग्रह गरेको छ।
समयमै सदस्यता दर्ता तथा नवीकरण नगरेमा संघका आगामी प्रतिनिधि प्रक्रिया र गतिविधिमा सहभागी हुन नपाइने विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा आगामी बृहत् एकताको १२ औँ महाधिवेशन २०२६ फेब्रुअरी २३ देखि २५ तारिखसम्म आयोजना हुने सन्दर्भ उल्लेख गर्दै सो महाधिवेशनमा सहभागी हुन सदस्यता दर्ता तथा नवीकरण अनिवार्य रहेको जानकारी गराइएको छ।
एनआरएनएले सदस्यता दर्ता तथा नवीकरणका लागि तोकिएको मोबाइल एपमार्फत प्रक्रिया पूरा गर्न सकिने जनाएको छ।















