एनआरएनए र एआइयुद्वारा दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबिबिएस छात्रवृत्ति
काठमाडौं। गैर आवासीय नेपाली संघ ( एनआरएनए) र एसियन इन्टरनेशनल युनिभर्सिटी (एआइयु) बीचको सहकार्यमा आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ।
गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिपुल नेपाली ओरजिन (पीएन) को सम्मेलनका अवसरमा एनआरएनए र एआइयु बीच यस सम्बन्धमा समझदारीपत्र भएको थियो। सोही समझदारीअनुसार बुधबार उक्त छात्रवृत्ति कार्यक्रम औपचारिक रूपमा घोषणा गरिएको हो।
छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोगद्वारा लिइएको साझा प्रवेश परीक्षा (सीइइ) २०८२ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट गरिएको जनाइएको छ।
एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका–६ निवासी २१ वर्षीय सचिन कुमार प्रजापति र बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका–१८ निवासी २१ वर्षीया भावना रेग्मी रहेका छन्।
छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल, भोजन, भिसा तथा बीमा शुल्कका साथै नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्नपछि नेपाल फर्किने हवाई भाडा (एक पटकका लागि) एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्नेछ।
अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले उज्बेकिस्तानस्थित एसियन इन्टरनेशनल युनिभर्सिटीबाट अध्ययन पूरा गरेपछि नेपाल सरकारले तोकेको वा उपलब्ध गराएको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने प्रावधान पनि राखिएको छ।
यस छात्रवृत्ति कार्यक्रमलाई कार्यान्वयन गर्न एनआरएनए आईसीसी सदस्य डा. किसान भण्डारीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। साथै, एसियन इन्टरनेशनल युनिभर्सिटीका रेक्टर एस.एस. देखकानोयको नेतृत्वमा विश्वविद्यालय पक्षको सहकार्य रहेको जनाइएको छ।
एनआरएनएले शिक्षा क्षेत्रमा गरिएको यस सहकार्यले आर्थिक रूपमा कमजोर तर मेधावी नेपाली विद्यार्थीलाई चिकित्साशिक्षामा पहुँच बढाउने विश्वास व्यक्त गरेको छ।



















