कांग्रेस महामन्त्रीले बोलाए विशेष महाधिवेशन, भाग नलिन मुख्य सचिवको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधवार विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गरेका छन् ।
महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गर्दै पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका हुन् ।
‘पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
महामन्त्रीद्वयले विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानूनको विपरीत भएको उल्लेख गरेका छन् ।
‘अतः विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मसात् गर्दै नेपाली काँग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आव्हान गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
महामन्त्रीहरूले विशेष महाधिवेशन कानुनी र राजनीतिकरुपमा अपरिहार्य बनेको बताएका छन्।


मुख्य सचिवको चेतावनी
महामन्त्रीद्वयले विषेश महाधिवेशन बोलाए पछि पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले त्यहाँ भाग नलिन चेतावनी दिँदै विज्ञप्ति जारी गरेका छन्।
मुख्य सचिवको विज्ञप्तिमा नेपाली कांग्रेसले कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नहुने भनेका छन्।
पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/ महाधिवेशनको प्रकृया र कार्यक्रमहरु सञ्चालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चार माध्यम मार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

















