पेन्सिल्भेनियाको कोभ माउन्टेन शिखरसम्मको प्रेरणादायी यात्रा : स्वास्थ्य, प्रकृति र एकताको संगम

कार्लायल, पेन्सिल्भेनिया / अक्टोबर महिनाको २५ तारिख, शनिवारको बिहान, हल्का चिसो हावा, शीतको भिजाइबाट नओबाएका घाँसहरू । सूर्योदयको रोशनले आकाश र पृथ्वी दुवैको रूप फेरेको थियो ।
शान्त र मनमोहक परिवेशमा, पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गको आँगनमा रहेको विशाल सस्क्वाह्वाना नदी वरपरको हरियाली निहाल्ने पदमार्गमा आज केही विशेष देखिन्थ्यो । हाइकिङ अर्थात पदयात्रा गर्नका लागि जोश र उत्साहले भरिएकाहरू बिहानै एक पछि अर्को गर्दै २६ जना जमघट भए । उनीहरू सबैका अनुहारमा एक किसिमको उमङ्ग झल्किन्थ्यो ।
कोभ माउन्टेनको फेदीमा केहीका हातमा तातो बाफ उड्दै गरेका कफीका कप थिए। कोही पानीको व्यवस्था गर्दै थिए। कोही साथीहरूसँग रमाइलो गफगाफमा व्यस्त ।
बिहानको ३६ डिग्री फरणहाइटको चिसो मौसममा पनि उनीहरूको ऊर्जा कम भएको थिएन, बरु यो चिसोले नै उनीहरूलाई अझ ताजा र जाँगरिलो बनाइदिएको थियो ।
पेन्सिलभेनियाको म्यारिसभिलस्थित कोभ माउन्टेनको पदयात्रा । यो साधारण पदयात्रा मात्र थिएन । १३ सय ७५ फिट अग्लो तथा १० माइलको पदयात्रा धेरैको लागि चुनौतीपूर्ण थियो । अझ त्यो भन्दा ठूलो यो यात्रामा विशेष आकर्षण थिए दुई जना कीर्तिमानी सगरमाथा आरोही जोडी । १० पटकका विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आङ दावा शेर्पा र उनीकी श्रीमती तथा सगरमाथा आरोही पासाङ फुटी शेर्पा ।

यी सबै भन्दा छिटो सगरमाथाको सफल आरोही गर्ने विश्व कीर्तिमानी दम्पती हुन्। दुवै जना विश्वसनीय, प्रेरणादायी र नेपालका गौरव हुन्। उनीहरूको साथमा पदयात्रा गर्ने मौका पाउनु भनेको अधिकांशका लागि जीवनकै यादगार अनुभव बन्ने कुरामा दुई मत थिएन । आङ दावा शेर्पा, जसले सगरमाथा लगायत नेपालका धेरै उच्च हिमशृङखलाहरूमा आफ्नो पाइला राखेका छन्, आज भने साधारण नागरिकहरूसँगै हरियाली बाटो हुँदै शान्त वनमार्गमा हिँडिरहेका थिए ।

बिहानको घाम, निलो आकाशमा हल्का बादल । जसले यात्राको सुरुमा नै एक रोमाञ्चक मौषमको अनुभव गरिरहेका थिए। सहभागीहरू सबैले गाडीबाट ओर्लिएर आफ्नो ब्याग मिलाइरहेका थिए । कोही क्यामेरा चेक गर्दै थिए, कसैले ऊर्जाका लागि ड्राइफ्रुट्स राख्दै थिए ।
आयोजकहरूले छोटो ब्रिफिङ गर्दै पदयात्राको मार्ग र आवश्यक सावधानीहरूको जानकारी दिए । त्यसपछि कीर्तिमानी आरोही आङ दावा शेर्पाले उपस्थित सबै पदयात्रीहरूले हाइकिङको बारेमा छोटो जानकारी दिए ।
‘हामी सबै प्रकृतिसँग जोडिन आएका हौँ। पदयात्रा भनेको केवल शरीरको व्यायाम होइन, आत्माको शुद्धीकरण पनि हो । प्रकृतिसँगको निकटता र सहयात्रीहरूसँगको समन्वय नै यसको सौन्दर्य हो।’ आङ दावाले भने।

शुरुवाती बाटो सजिलो थियो । अक्टोबर महिना रुखबाट झरेका रङ्गीबिरङ्गी पात,घाँस र माटो मिसिएको पथ, चराहरूको चिरबिर आवाज । बिचबिचमा उकालो र आरोलो पथ । कतिपय ठाउँमा बाटो अलिक उकालो बन्थ्यो, जसले पदयात्रीहरू सास फेर्ने समय मागिरहेका हुन्थे। कोही–कोही त यी क्षणहरूमा फोटो खिच्दै रमाइरहेका थिए, जबकि अरूले प्रकृतिको सुन्दरतामा डुबेर निःशब्द बनेका थिए।

‘ल पाँच मिनेट पानीका लागि विश्राम’ उकालो उक्लँदै गर्दा पद यात्रा आयोजक इन्सपायर टु एक्सप्लोरका संस्थापक नीलहरि भण्डारीले भने। त्यही बेला पदयात्रा शुरु गर्दा लगाएका बाक्ला कपडा सबैले खोले।

लगभग डेढ घण्टा हिँडेपछि समूह एउटा माउन्टेनको शिखरमा पुग्यो । त्यहाँबाट तल स्वास्क्वाहान नदी, पारिपट्टिको हरिया अग्ला चट्टाने पहाड, क्षितिजमा ह्यारिसबर्ग शहर र छेउछाउका सुन्दर दृश्य ।

‘वा क्या गज्जब’ पदयात्रामा सहभागी पिजन फेदर स्टुडियोको प्रस्तोता लक्ष्मी अधिकारी भन्दै थिए।

अलि अगाडि सम्म उकालो उक्लँदा स्वा स्वा गर्दै गरेकाहरू पनि शान्त भइसकेका थिए। डाँडाका चुचुरा सुनौलो देखिन्थे। ‘फल सिजन’ रङ्गीचङ्गी रुख । भुईँमा झरेका रङ्गिन पात । त्यस माथि सूर्यका किरण।
सगरमाथा आरोही आङ दावा शेर्पा र पासाङ फुटी शेर्पा दुवै त्यहाँ उभिएर सबैलाई हिमालयको महत्त्व, वातावरणीय सन्तुलन र संरक्षणका विषयमा जानकारी दिँदै थिए।
‘हामीले हिमाल चढ्दा हरेक कदमसँग जिम्मेवारी पनि हुन्छ। प्रकृति हाम्रो मन्दिर हो, यसलाई माया गर्नुपर्छ।‘ उनीहरू भन्दै दिए।
थोरै विश्रामपछि समूहले पुनः यात्रालाई निरन्तरता दियो । बाटो अब अलि कठिन बन्दै गएको थियो । पत्थरीला उकालोहरू, संकुचित गोरेटो र कहिलेकाहीँ चिप्ला ढुङ्गाले यात्रालाई चुनौतीपूर्ण बनाइरहेका थिए । सबैले एक अर्कालाई हौसला दिँदै अघि बढिरहेका थिए । युवा सहभागीहरू अन्यलाई हात दिँदै सहयोग गरिरहेका थिए । यही क्षणले पदयात्राको वास्तविक अर्थ प्रकट गरिरहेको थियो: “सहयोग र एकता ।”
बिचबिचमा आङ दावा शेर्पा आफ्नो अनुभव बाँड्दै थिए। उनले एभरेष्ट आरोहणका कठिनाइ, हिमालमा अनुशासनको महत्त्व र सफलताको पछाडि लुकेको परिश्रमको कथा सुनाए । ती कथा सहभागीहरू चुपचाप । गर्वले उनको कुरा सुन्दै थिए । उनका शब्दहरू केवल प्रेरक मात्र थिएनन्, जीवनका गहिरा पाठहरू पनि थिए ।
त्यस्तै, इन्सपायर टु एक्सप्लोरका संस्थापक अध्यक्ष नील भण्डारीले सबै सहभागी पदयात्रीहरूलाई हौसला दिँदै पदयात्रा सफल बनाउन महत्त्वपूर्ण सुझावहरू साझा गरिरहेका थिए । उनले प्रत्येक सहभागीको नजिक गएर व्यक्तिगत रूपमा सहकार्य गरिरहेका थिए, ताकि सबैले सुरक्षित र रमाइलो यात्रा अनुभव गर्न सकुन् ।
‘हाइकिङ गर्दा मानसिक र शारीरिक दुवै फिटनेसको ख्याल गर्न अत्यन्त आवश्यक छ । यदि दिमाग र शरीर दुवै तयार छैन भने यात्रा रमाइलो मात्र नभई चुनौतीपूर्ण पनि बन्न सक्छ।‘ नीलले विशेष रूपमा जोड दिए।

उनले यो पनि सम्झाए कि हाइकिङमा सावधानी अपनाउनु जीवन रक्षा जस्तो महत्त्वपूर्ण हुन्छ। अध्यक्ष भण्डारीका अनुसार छोटो ब्रेक लिएर पानी पिउनु, बाटोमा ध्यान दिनु, जोखिमयुक्त स्थानमा ढिलाइ नगरी सावधानीपूर्वक हिँड्नु ।
उनी सहभागीहरूलाई हरेक चरणमा मार्गदर्शन गर्दै, कस्तो अवस्थामा कहिले विश्राम लिनु पर्ने, कुन बाटोबाट जानु राम्रो हुन्छ भन्ने बारेमा स्पष्ट जानकारी दिइरहेका थिए ।
अध्यक्ष नील भण्डारीले ब्याग प्याक व्यवस्थित गर्ने तरिकामा पनि प्रशिक्षण दिए ।
उनले भने, “ब्याग प्याकमा अत्यावश्यक सामान मात्र राख्नुहोस्। भारी बोकेको ब्याग प्याकले लामो दूरी हिँड्दा थकान बढाउँछ । पानी, ऊर्जा दिने स्न्याक, प्राथमिक उपचार सामग्री र मौसम अनुसारको कपडा सधैँ सजिलो पहुँचमा राख्नुहोस्।” यसरी सुसङ्गठित ब्यागले पदयात्रालाई सहज बनाउँछ र दुर्घटनाको जोखिम कम गर्छ ।
उनको मार्गदर्शनले केवल शारीरिक तयारी मात्र नभई मानसिक तत्परता र अनुशासन पनि प्रदान गरेको छ । प्रत्येक सहभागीले भण्डारीको अनुभव र सुझावबाट उत्साह पाएर एक आपसमा सहयोग गर्दै अघि बढ्न मदत गरेको छ । त्यस दिनको यात्रा केवल रमाइलो हाइकिङ मात्रै नभई सुरक्षित, योजनाबद्ध र प्रेरणादायी अनुभवमा परिणत भएको छ ।
घना वनभित्र घामको हल्का किरणसँगै हावा चलिरहेका थियो । अन्ततः निर्धारित गन्तव्यमा पुग्दा सबैले सामूहिक रूपमा उत्साह प्रकट गरे—कसैले गीत गाए, कसैले फोटो खिचे, कसैले ध्यान मग्न भएर वरिपरि हेरे ।
‘फलको सिजन, रङ्गीचङ्गी रुखहरू हेर्दै हिँड्दा रमाइलो भइरहेको छ।’ पदयात्रामा सहभागी अन्जु सुब्बाले भनिन्, ‘मैले अलिअलि सट हाइकिङ गर्थे, तर यसरी ठूलो समूहमा हिँडेको यो पहिलो पटक हो।‘
डेढ घण्टा उकालो उक्लिए पछि भन्ज्याङबाट ओरालो लाग्ने क्रममा सुब्बाले भनिन्। ‘यो अलिकति इन्टरनेसनल तर रमाइलो भइरहेको छ।‘

‘कति जनाले मिस गर्नुभयो त्यसको लागि हामीले पनि तपाईंहरुलाई समय दिन सकेनौँ कि भन्ने म अनुभूति गरिरहेको छु।‘ पद यात्रामा सहभागी बाइसर्क ग्रुपका सदस्य तथा रियल्टर कृष्ण प्रधानले भने।
पदयात्रा करिब १ बजे तिर औपचारिक रूपमा सम्पन्न भएको थियो । सहभागीहरूले अन्त्यमा समूह फोटो खिचे, एक–अर्कासँग सम्पर्क साटे र अर्को यात्रामा भेट्ने वाचा गर्दै सबै जना छुटिए ।
‘पद यात्रालाई जीवन शैली नै बनाउन सके राम्रो हुन्छ।‘ पब्लिक हेल्थमा हालसालै पिएचडी गरेका भुवन गौतमले भने। ‘हाइकिङ पहिला देखि नै गर्थे तर बीचमा बाक्लो थिएन, यो साल पहिलो नै हो । मैले अरू एक्टिभिटिज स्पोर्ट्स गर्छु। तर यो हाइकिङ चाही नछुटाऊ भनेर हामी श्रीमान् श्रीमती दुई जना यहाँ आयौ।‘
अमेरिकामा स्थापित गैर–नाफामूलक संस्था इन्सपायर टु एक्सप्लोरले पछिल्ला केही वर्षयता नेपाली भाषी समुदायलाई लक्षित गर्दै विभिन्न हाइकिङ, दौड, ट्रेकिङ, र प्रकृति–आधारित गतिविधिहरूको आयोजना गर्दै आइरहेको छ ।

यस संस्थाको मुख्य उद्देश्य भनेको मानिसहरूलाई बाहिरी गतिविधिमा संलग्न गराई मानसिक, शारीरिक, तथा भावनात्मक स्वास्थ्यमा सुधार ल्याउनु, जीवनको उद्देश्य र आत्मविश्वास फेला पार्न सहयोग गर्नु र समुदायमा आपसी सहयोग र समझदारीको भावना विकास गर्नु रहेको छ ।
‘यस पटकको पद यात्रामा सहभागिता उत्साहजनक भयो।‘ इन्सपायर टु एक्सप्लोरका सह संस्थापक डोम आचार्यले भने, ‘पहिला हामीले मान्छेहरूलाई फोन गरेर आऊ भन्न पर्थ्यो यो पटक हामीले वेबसाइटमा आफै दर्ता गरेर आउन भन्दा आएका हुन्।‘
आचार्यले समुदायमा अब चेतना बढ्दै गएको आफूले पाएको बताए। ‘स्वास्थ्यका बारेमा मान्छेहरू अलिक सचेत देखिएका छन्।‘ उनले भने।
‘अरू बेलाको पद यात्रा भन्दा यस पटक धेरै सूचना मूलक र मूल्यवान भयो।‘ नील भण्डारीले भने।
पदयात्रा केवल भौगोलिक उचाइमा पुग्ने लक्ष्य थिएन, यो आत्मिक उचाइमा पुग्ने सबैको प्रयास थियो । आजको शहरी जीवनमा, जहाँ समयको अभाव र तनावले मानिसलाई मानसिक रूपमा कमजोर बनाउँदै छ, यस्ता यात्राहरूले सन्देश दिन्छन् ।
‘स्वास्थ्यका लागि एक पाइला हिँडौँ ।‘
र यो पनि…
एक पाइला बाहिर, एक श्वास भित्र : मानसिक स्वास्थ्यका लागि प्रकृतिमा फर्किऔँ












