एक पाइला बाहिर, एक श्वास भित्र : मानसिक स्वास्थ्यका लागि प्रकृतिमा फर्किऔँ

कार्लायल, पेन्सिलभेनिया/ अहिलेको समयमा मानिसहरूको जीवनशैली निकै व्यस्त र तनावपूर्ण बन्दै गएको छ। काम, पढाइ, व्यावसायिक जिम्मेवारी, पारिवारिक चाप र सामाजिक अपेक्षाबिच धेरै मानिसहरू आफैँलाई हराउँदै गएका छन् । यसरी निरन्तर दबाबमा बाँच्नुपर्ने अवस्था शारीरिक थकानसँगै गहिरो मानसिक तनाव, आत्म–सन्देह, एक्लोपन र कहिलेकाहीँ आत्महत्याको मनोवृत्तिसम्म पुग्ने अवस्था सिर्जना भइरहेको छ ।
पछिल्लो समय नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली र नेपाली भाषी समुदायमा समेत आत्महत्याको संख्या बढ्दै गएको देखिन्छ । विशेष गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकहरूमा रहेका नेपाली विद्यार्थी तथा कामदारहरूबिच बढ्दो मानसिक तनाव, सांस्कृतिक अन्तर, पारिवारिक दूरी, प्रतिस्पर्धा र आर्थिक दबाबजस्ता कारणहरूले मानसिक असन्तुलनको अवस्था देखा पर्न थालेको छ । एक्लोपन, अभिव्यक्तिको अभाव र सामाजिक समर्थनको कमीले गर्दा कतिपयले जीवनप्रति निराशा महसुस गर्न थालेका छन् ।
यस्तो अवस्थामा एक साधारण तर प्रभावकारी उपाय हुन सक्छ—हाइकिङ, अर्थात् प्रकृतिमा पैदल यात्रा । यो कुनै महँगो उपचार हैन, बरु सुलभ, प्राकृतिक र स्वास्थ्य वर्द्धक गतिविधि हो । हालैका विभिन्न वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि नियमित हाइकिङले मानसिक तनाव घटाउने, आत्महत्या विचार घटाउने, आत्मविश्वास बढाउने र सकारात्मक सोच निर्माण गर्न सहयोग पुर्याउँछ ।
प्रकृतिको काखमा केही घण्टा समय बिताउनु, हरियाली हेर्नु, पहाड चढ्नु, खोला नजिक हिँड्नु, वा खुला आकाश हेर्दै केही समय एकान्त बिताउनु मानसिक दृष्टिले निकै लाभदायक हुन्छ । यसले दिमागलाई ताजगी दिन्छ, मनमा शान्ति ल्याउँछ र दिनभरका नकारात्मक भावना मेटाउँछ ।
त्यसै गरी, सामूहिक हाइकिङको फाइदा अझ उल्लेखनीय छ । जब मानिसहरू समूहमा प्रकृति यात्रा गर्छन्, उनीहरूले नयाँ सम्बन्ध बनाउँछन्, अनुभव बाँड्छन् र एक अर्काबाट सहयोग पाउँछन् । यस्तो भावनात्मक समर्थनले व्यक्तिको आत्मबल बढाउँछ र उनलाई मानसिक रूपमा सशक्त बनाउँछ । एक्लोपन हटाउँछ, हाँसो र संवाद बढाउँछ—जुन आत्महत्याको सोच घटाउने प्रमुख माध्यम बन्न सक्छ ।
मानसिक स्वास्थ्य जोगाउन र आत्महत्याको दर घटाउन राज्य, समाज र व्यक्तिगत तहमा हाइकिङ जस्ता प्राकृतिक, सस्तो र सजिलो उपायहरूको प्रवर्द्धन गर्नु अत्यावश्यक भएको छ । विद्यालय, कलेज, संस्था र समुदाय स्तरबाट यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिएमा मानसिक सन्तुलन कायम राख्न र सामाजिक एकता बढाउन महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ ।
इन्सपायर टु एक्सप्लोरको प्रयास— हाइकिङ र दौडले नेपाली समुदायलाई जोड्दै

संयुक्त राज्य अमेरिकामा स्थापित गैर–नाफामूलक संस्था इन्सपायर टु एक्सप्लोरले पछिल्ला केही वर्षयता नेपाली तथा नेपाली भाषी समुदायलाई लक्षित गर्दै विभिन्न हाइकिङ, दौड, ट्रेकिङ, र प्रकृति–आधारित गतिविधिहरूको आयोजना गर्दै आइरहेको छ । यस संस्थाको मुख्य उद्देश्य भनेको मानिसहरूलाई बाहिरी गतिविधिमा संलग्न गराई मानसिक, शारीरिक, तथा भावनात्मक स्वास्थ्यमा सुधार ल्याउनु, जीवनको उद्देश्य र आत्मविश्वास फेला पार्न सहयोग गर्नु र समुदायमा आपसी सहयोग र समझदारीको भावना विकास गर्नु रहेको बताइएको छ ।
इन्सपायर टु एक्सप्लोरको स्थापनाको प्रेरणा संस्थापक नीलहरि भण्डारीको व्यक्तिगत जीवन अनुभवबाट आएको हो। नेपालकै शरणार्थी शिविरमा हुर्किएका नीलले अमेरिकामा आएपछि जीवनका विभिन्न चुनौतीहरू पार गर्दै व्यावसायिक सफलता हासिल गरे । तर, उनीभित्रको आत्मिक रिक्तता र थकित जीवनशैलीले उनलाई प्रकृतिको काखमा फर्किन बाध्य बनायो । सन् २०२२ मा नेपालको अन्नपूर्ण सर्किटको ट्रेकले उनलाई पूर्ण रूपमा परिवर्तन ग¥यो, जुन अनुभवको आधारमा इन्सपायर टु एक्सप्लोर जन्मिएको हो ।

संस्थाले अमेरिकाको न्यु योर्क, टेक्सस, इलिनोइस, भर्जिनिया, क्यालिफोर्निया लगायतका राज्यहरूमा विभिन्न हाइक, दौड, तथा सामूहिक ट्रेकिङ कार्यक्रम गर्दै आएको छ । यसमा नेपाली समुदायका विभिन्न उमेर समूहका सदस्यहरू—बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक—सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। यस्ता कार्यक्रमले समुदायमा भौतिक स्वास्थ्यको प्रवर्द्धन मात्र होइन, सामाजिक एकता, आत्म–प्रेरणा र प्रकृतिप्रतिको प्रेम समेत विकास गरेको छ ।
कार्यक्रमहरूमा सहभागीहरूका अनुसार, यस्ता गतिविधिले उनीहरूलाई दैनिक तनावबाट मुक्त हुन, जीवनमा नयाँ ऊर्जा ल्याउन, र आफूलाई फेरि चिन्न सहयोग पुर्याएको छ । साथै, कार्यक्रमहरू नेतृत्व विकास, स्वयंसेवा, र सामुदायिक संलग्नताको अभ्यास स्थल बनेका छन् ।
संस्थाले युवा पुस्तालाई नेतृत्वको अवसर दिई उनीहरूलाई सामाजिक सेवा, स्वयंसेवा, र वातावरणप्रति उत्तर दायित्वबोध गराउने उद्देश्य राखेको छ । इन्सपायर टु एक्सप्लोर एक संस्था मात्र होइन, यो जीवनशैली परिवर्तनको अभियान हो । यो अभियानले नेपाली समुदायलाई स्वास्थ्य, सशक्तीकरण, र उद्देश्यपूर्ण जीवनको दिशामा अघि बढ्न सहयोग गरिरहेको छ । आगामी दिनहरूमा अझ बढी नेपालीहरूलाई समेट्दै यो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको संस्थापक अध्यक्ष नीलहरि भण्डारीले बताएका छन् ।
शरणार्थी शिविरबाट विश्व प्रेरणासम्म: नीलहरि भण्डारीको जीवन परिवर्तनको कथा

जीवनका कठिन सङ्घर्षबाट उक्लिँदै अमेरिकी भूमिमा उदाएका नीलहरि भण्डारी आज एक सफल उद्यमी, स्वास्थ्य सेवा कार्यकारी, रियल स्टेट रणनीतिकार मात्र होइन, प्रकृतिप्रतिको प्रेमलाई समाजसेवामा रूपान्तरण गर्ने प्रेरणादायी व्यक्तित्व बनेका छन् ।
भुटानबाट विस्थापित भएपछि नेपालको शरणार्थी शिविरमा बाल्यकाल बिताएका भण्डारी हाल अमेरिकामा नेपाली समुदायका लागि सक्रिय सामाजिक अभियन्ता बनेर उदाएका छन् । आर्थिक, सामाजिक र व्यक्तिगत चुनौतीहरूबिच हुर्केका भण्डारीले आफ्नो जीवनको दिशा बदल्न कठिन परिश्रम गरे ।

सन् २००९ मा संयुक्त राज्य अमेरिका प्रवेश गरेपछि, उनले साउर्थन न्यु ह्याप्सयर युनिभर्सिटीबाट गणित र तथ्याङ्कमा स्नातक उपाधि प्राप्त गरे । त्यसपछि युनिभर्सिटी अफ पेन्सिलभेनिया अन्तर्गतको वार्टन स्कुलमा कार्यकारी तालिमसमेत पूरा गरे । उनले एक्पो रियल्टीमा शीर्ष प्रदर्शन गर्ने बिक्री तथा मार्केटिङ टोलीको नेतृत्व गरेर रियल स्टेट क्षेत्रमा ख्याति प्राप्त गरेका छन् । त्यस्तै, उनले होम एण्ड कम्युनिटी–बेस्ड हेल्थ केयर क्षेत्रमा पनि उल्लेखनीय सफलता हात पारे ।
सन् २०२२ मा भण्डारीको जीवनले नयाँ मोड लियो । उनी शारीरिक रूपमा अस्वस्थ, मानसिक रूपमा तनावग्रस्त र आत्मिक रूपमा दिशाहीन महसुस गरिरहेका थिए । “म आफूलाई चिन्न छोडिसकेको थिएँ,” नील सम्झन्छन्। त्यसै वर्ष उनले वार्टन स्कुल अफ म्यानेजमेन्ट डेभलपमेन्ट कार्यक्रममा सहभागी भई नेतृत्व र आत्म–विकासका कक्षाहरू लिँदै आफैँप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताए ।

त्यस्तै अक्टोबर २०२२ मा उनले नेपालको अन्नपूर्ण सर्किट ट्रेक गरे—जसले उनको जीवनको सम्पूर्ण मार्गचित्र परिवर्तन गरिदियो । प्रकृतिसँगको त्यो गहिरो पुनः सम्बन्धले उनलाई मात्र होइन, अरूलाई पनि प्रकृतिको माध्यमबाट परिवर्तन गर्न सकिने विश्वास दिलायो । यही सोचको आधारमा उनले इन्सपायर टु एक्सप्लोर नामक गैर–नाफामूलक संस्था स्थापना गरे ।
इन्सपायर टु एक्सप्लोरको उद्देश्य हो—मानिसलाई हाइकिङ, ट्रेकिङ, दौड र अन्य बाहिरी गतिविधिहरूमा सहभागी गराई शारीरिक स्वास्थ्य, आत्मबल, र सामाजिक सम्बन्ध मजबुत बनाउने कार्यक्रम गर्दै आइरहेको छ । भण्डारीले सन् २०२३ मा थप ठूलो लक्ष्य बनाए—सात वटा महादेशका सात सर्वोच्च हिमाल र विश्वका प्रमुख म्याराथनहरूमा सहभागी हुने ।

हालसम्म उनले किलिमञ्जारो, मोन्ट ब्लान्क, र माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण गरिसकेका छन् । अहिले उनी डेनाली र आकन्कागुवा को लागि तालिमरत रहेका छन् । त्यस्तै उनले दौडतर्फ सन् २०२४ को शिकागो म्याराथन पनि पूरा गरिसकेका छन् भने न्यु योर्क सिटी म्याराथन को तयारीमा रहेका छन् । आगामी वर्षहरूमा लन्डन र सिड्नी म्याराथन मा भाग लिने उनको योजना रहेको छ ।
नीलहरि भण्डारीको प्रेरणादायी यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, यो समुदाय, प्रकृति, र उद्देश्यपूर्ण जीवनशैलीको संगम हो ।
इन्सपायर टु एक्सप्लोर जस्ता अभियानहरू मार्फत उनले नेपाली तथा नेपालीभाषि समुदायलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएका छन् ।

हाइकिङ, ट्रेकिङ, र बाहिरी गतिविधिहरूको माध्यमबाट स्वास्थ्य, आत्मविश्वास, र सामाजिक एकता प्रवर्द्धन गर्ने यो अभियानले विशेष गरी आप्रवासी नेपाली तथा नेपालीभाषि समुदायमा सकारात्मक परिवर्तन ल्याएको छ।

आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा हाइकिङजस्ता सरल तर प्रभावशाली अभ्यासहरूले मानिसलाई आफैँसँग पुनः जोडिन, मानसिक सन्तुलन कायम गर्न र स्वस्थ जीवन बिताउन उत्प्रेरित गर्छन् । नीलको जीवनले देखाएको छ—यदि दृढ सङ्कल्प र उद्देश्य हो भने, जुनसुकै पृष्ठभूमिबाट पनि विश्वभर प्रभाव पार्न सकिन्छ ।















