ओली सरकारको पालामा नियुक्त अमेरिका सहित ११ देशका राजदूत फिर्ता बोलाइयो

Getting your Trinity Audio player ready...
|
काठमाडौं/ सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार अमेरिका सहित चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको हो।
फिर्ता बोलाइएका राजदूतहरूले आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किनुपर्नेछ।
मन्त्री खरेलले भने, “यी ११ देशका नेपाली आवासीय राजदूतहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किने गरी फिर्ता बोलाउने निर्णय भएको छ।”
यी राजदूतहरू राजनीतिक नियुक्ति लिएका हुन्। परराष्ट्र सेवाका राजदूतलाई भने यथावत् राखिएको छ।