तिला नदीले बगाएर ल्याएको रतुवा उद्धार, वन कार्यालयलाई जिम्मा लगाइयो
मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुमारीस्थित तिला नदीले बगाएर ल्याएको जङ्गली जनावर रतुवाको सफल उद्धार गरी डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा लगाइएको छ ।
शुक्रबार अपराह्न ५ः५० बजे सो जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमान्डमा तीन जनाको टोली खटिएको थियो ।
टोलीले जङ्गली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सव–डिभिजन वन कार्यालयका वन अधिकृत रवीन्द्र कुमार अधिकारीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।
उक्त स्थान प्रहरी चौकी कुडारीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने बताइएको छ । उद्धार गरिएको जनावरलाई प्राकृतिक वासस्थानमा पुनः स्थापित गरिने वन कार्यालयले जनाएको छ ।
स्थानीयवासीले प्रहरी र वन कार्यालयको समन्वयमा गरिएको चाँडो र प्रभावकारी कार्यप्रति प्रशंसा व्यक्त गरेका छन् ।














