‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’

सञ्जय कुमार यादव
जनकपुर । कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरू निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गर्थ्यो ।
तर आज किसान, कृषि र सबैभन्दा बढी धानको अवस्था नाजुक बनेको छ । आज धानको उत्पादन कम हुने गरेकाले नेपालले प्रत्येक वर्ष अर्बौँ रुपैयाँमा भारतबाट धान आयात गर्नुपरेको छ ।
धनुषाको रम्दैयास्थित राष्ट्रिय धान बाली अनुसन्धानका संयोजक मथुरा यादवका अनुसार ११ महिनामा ३८ अर्व रुपैयाँ बराबरको धान र चामल भारतबाट आयात गर्नु परेको छ । जबकि अहिले १४ लाख बढी हेक्टरमा धान खेती भइरहेको छ । जसबाट ५० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
यो उत्पादनलाई खराब भन्न सकिँदैन तर चामलको खपत अनुसार उत्पादन भने थोरै हुने गरेको छ । यसका लागि सरकारले ठोस नीतिका साथ मल, खाद र सिचाइमा विशेष ध्यान दिनुपर्ने संयोजक यादवको भनाई छ ।
पहिला पहाड र दुरदराजका क्षेत्रहरूमा मकै र मकैबाट बनेको परिकार (ढिँडो) लगायतका खानेकुरा बढी खपत हुने गर्दथ्यो भने अहिले पूर्वाधार विकास भएसङै सबै ठाउँमा चामल खाने बानी बसेको उनी बताउँछन् ।
एकातिर खपत बढे पनि उत्पादनमा भने कमी आएको छ । युवाहरू विदेश पलायन हुन थालेदेखि झन् कृषि पेसा धरापमा पर्न लागेको राष्ट्रिय धान बाली अनुसन्धानका किट विज्ञ मोहम्मद फर्सत अलि बताउँछन् ।
उनका अनुसार अहिले अनुसन्धान केन्द्रबाट ७२ वटा धानका बिउहरू उपलब्ध भइरहेका छन् । जसमध्ये तराई क्षेत्रलाई लक्षित गरी थुप्रै हाइब्रिड र सिजनल धानका बिउहरूको पनि विकास गरिएको छ । किसानले कम जग्गामा बढी धान फल्ने बिउहरू खोज्न थालेका छन् । तर सिचाई र मल, खाद्यको समस्याले चाहे जतिको धान उब्जन सकेको छैन ।
धान दिवसलाई देश भरी पर्वको रुपमा मनाइराख्दा पनि धानका लागि अन्य देशमा भर पर्नु परेकाले दिवसको सार्थकता माथि नै प्रश्न उठेको छ । सरकारले ठोस नीति नल्याए बाँकी रहेका धान खेत र किसानहरू बिस्तारै हराउने सम्भावना रहेको पछिल्लो वर्षहरूको तथ्याङ्कले देखाएको छ ।
(नेपाल न्यूज बैंक)