रारामा सुविधा सम्पन्न होटल तथा रिर्सोट खुल्ने क्रम बढ्यो

मुगु । सडक तथा हवाई सञ्जालको पहुँच विस्तारसँगै रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकको संख्या बढेसँगै सुविधा सम्पन्न होटलहरु पनि खुल्न थालेका छन् ।
बढ्दो पर्यटकीय आवागमनले रारामा खाना, बास र मनोरञ्जन जस्ता पूर्वाधारप्रति पर्यटकको गुनासो बढ्न थालेपछि त्यसलाई सम्बोधन गर्न सेवा सुविधा सम्पन्न होटेलहरू सञ्चालनमा ल्याइएको छ ।
रारा तालको किनारका मुर्मा टप, कोट, माझ घट, सल्यारी, ताल्चा, लामाचौर तथा गमगढी बजार आसपासका क्षेत्रहरूमा पर्यटकको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ होटेलहरू धमाधम सञ्चालनमा आएका छन् । पर्यटकको बसोबास, खानपान र मनोरञ्जनका लागि सहज व्यवस्था मिलाउन थालिएको छ ।
रारा तालबाट करिब दुई घण्टा टाढा रहेको ३८०० मिटर उचाइको पर्यटकीय गन्तव्य मुर्मा टपबाट रारा तालको पूर्ण दृश्यावलोकन गर्न सकिने, चमेरा गुफा, गौँथली गुफा, मुगु कर्णालीलगायतका स्थलको अवलोकन साथै छिमेकी पाँच जिल्लाका हिमशृङ्खला, हिमचुचुरा, छाँयानाथ धाम, चुचेमार हिमाल, शैपाल हिमाल, वन्यजन्तु र वनस्पतिको अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
स्थानीय उत्पादन तथा रैथाने परिकारलाई प्रवर्द्धन गर्दै धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचार–प्रसारका साथै आर्थिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यले रारा इको रिपोर्ट प्रालिका प्रोप्राइटर धनसिंह रोकायाले मुर्मा टपमा होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।
मुर्मा टपका होटेलहरूमा बास, खानपान र सुत्ने व्यवस्था अत्यन्तै सुविधाजनक रहेको पर्यटकहरू बताउँछन् । काली मार्सी धानको भात, स्थानीय परिकारको स्वाद लिन सकिने, साथै हिमाल, पहाड, वनस्पति र रारा तालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरू यस स्थानबाट निकै प्रभावित देखिन्छन् । अपेक्षा भन्दा बढी सुविधा र प्राकृतिक सौन्दर्य पाइने भएकाले रारा–मुर्मा घुम्न लायकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
रारा बाहेक मुगु जिल्लाका अन्य सांस्कृतिक रीतिरिवाज झल्काउने संग्रहालय, पर्यटकको बसाई लम्ब्याउने खालका गतिविधि तथा पूर्वाधारको विकास गरिएमा पर्यटकको संख्या थप बढ्न सक्ने र जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरूको विश्वास छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, अहिले सञ्चालनमा रहेका होटेलहरूमा केही सुधार आवश्यक देखिएको र ठुला होटल सञ्चालनका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको जानकारी दिएका छन्। साथै, राज्यका तीनै तहका सरकारले रारा वरिपरि पर्यटकीय पूर्वाधार निर्माण गरी बसाइ लम्ब्याउने खालका योजना अघि सारेमा रोजगारी सिर्जना हुने र समग्र मुगु तथा छिमेकी जिल्लाहरूको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने बताइएको छ ।
रारा आफैँमा गौरवको विषय भएको र यसको समुचित व्यवस्थापन, प्रवर्द्धन तथा पूर्वाधार विकासमार्फत नेपालको महत्त्वपूर्ण पर्यटन गन्तव्यका रूपमा अझ विस्तार गर्न सकिने देखिन्छ ।