अन्ततः एनआरएनको एकता महाधिवेशन शुरु, परराष्ट्रमन्त्री राणाद्वारा उद्घाटन

काठमाडौँ । अन्ततः विभिन्न अन्योलका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय समितिको आयोजनामा एकता महाधिवेशन शनिवार देखि काठमाडौँमा शुरु भएको छ ।
एउटा पक्षको बहिस्कारका बीच परराष्ट्रमन्त्री आरजु देउवा राणाले महाधिवेशनको उद्घाटन गरिन। डा. बद्री केसी पक्षले सर्वोच्च अदालतको परमादेशद्वारा गठित शेष घले नेतृत्वको उच्च स्तरीय समितिका गतिविधिलाई अस्वीकार गर्दै आएको छ।
एकता महाधिवेशन रोक्नका लागि केसी पक्षले सर्वोच्चमा मुद्दा दायर गरेको छ । अघिल्लो हप्ता चार दिन सम्म पेशी चढेर पनि हेर्न नमिल्ने भएको मुद्दा अब आइतबार हेर्न मिल्ने न्यायाधीशमा पार्न आदेश छ।
त्यसो त परराष्ट्र मन्त्रालयले पनि एनआरएनएको एकता महाधिवेशन सार्न महान्यायाधिवक्ता मात्र सर्वोच्चमा पत्राचार गरेको थियो। केही साता अगाडि चुनाव सार्न निर्णय सदर गरेकी मन्त्री राणा शनिवार भने महाधिवेशन उद्घाटन गर्न आएकी हुन्।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनए परिचयपत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् ।
उनले सर्वोच्च अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन् ।
एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैर आवासीय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन् ।
उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रुपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे ।
उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास शुरुवात गरे नेपालले पनि यस वाट सिक्नुपर्ने पनि बताए ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए ।
उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अब युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिँदै छ । सोमबार कार्यक्रम समापन हुनेछ ।