नयाँ वर्षको उपलक्ष्यमा सेन्ट्रल टेक्ससको किलिनमा भलिबल सँगै पिकनिकको उमङ्ग
टेक्सस / नयाँ वर्ष २०८२ को उपलक्ष्यमा अमेरिकाको टेक्सस राज्यको ग्रेटर अस्टिनमा नेपालीहरू बीचमा आइतबार भलिबल च्याम्पियन सँगै पिकनिक आयोजना गरिएको छ।
सेन्ट्रल टेक्सस भलिबल च्याम्पियनसिप उपाधि किलिन टाइगरले जितेको छ।
ग्रेटर अस्टिनमा आइतबार भएको च्याम्पियनसिपको फाइनलमा किलिन टाइगरले हार्कर हाइट्सलाई दुई सुन्यको सोझो सेट हराउँदै उपाधि जितेको हो ।
पहिलो सेट २५ -२१ ले जितेको किलिन टाइगरले दोस्रो सेट २५ -१७ ले आफ्नो पक्षमा पार्दै दुई हजार अमेरिकी डलरको नगद पुरस्कार प्राप्त गर्यो ।
दोस्रो भएको हार्कर हाइट्सले एक हजार अमेरिकी डलर प्राप्त गर्यो। एक दिने च्याम्पियनसिपमा अमेरिकी नेपाली सेनाको टोली, किलिन ए, मार्बल फल्स कुसारी टोली पाँच टिमले भाग लिएका थिए।
सहभागी टिमलाई लिग कम नकआउटको आधारमा खेलाइएको थियो।
सेन्ट्रल टेक्सस नेपाली समाज तथा ग्रेटर अस्टिन नेपाली समाजको आयोजनामा हार्कर हाइट्स पार्कमा च्याम्पियनसिप सँगै नयाँ वर्षको पिकनिक पनि धूमधाम भएको थियो।
पिकनिकमा त्यस क्षेत्रमा रहेका नेपालीको उल्लेख्य सहभागी रहेको थियो। सहभागीहरूले आपसमा शुभ कामना साटासाट गर्दै नाचगान गरेर रमाइलो मानेका थिए।