विपिन कार्की भन्छन् : पहिलो पटक फरक काम गरे
काठमाडौँ । चलचित्र ‘कर्मा’ गत बिहीबारबाट देशव्यापी प्रदर्शनमा छ । चलचित्रका टिम अहिले दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न हलहल पुगिरहेका छन् ।
आइतबार कमलपोखरीको बिग मुभीज सिनेमा हलमा फिल्म कर्माको स्पेशल शो कार्यक्रम पछि अभिनेता विपिन कार्कीले अगाडि गरेका काम भन्दा बढी टेक्निकल भएको भन्दै पहिलो पटक फरक काम गरेको बताए ।
‘चलचित्र हेर्नहरुले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । रमाइलो, राम्रो र तपाईँलाई सुहाएको छ भन्नु भएको छ । मेरो डर पनि यसैमा थियो । अडियन्सलाई धन्यवाद भन्छु’ उनले भने ।
यस्तै, नायिका उपास्नासिंह ठकुरीले यो चलचित्र गर्दा राम्रो अनुभव बटुलेको भन्दै फिल्म राम्रो बनेको बताइन् ।
कलाकार दिव्य देव पन्तले आफू अभिनीत चलचित्र पीताम्बर र कर्मा एकसाथ हलमा आउँदा अप्ठ्यारो भएको भन्दै सन्तुलन मिलाएर हलमा पुग्ने गरेको बताए ।
चलचित्र ‘कर्मा’मा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
सौरभ चौधरीले निर्देशन गरेको ‘कर्मा’को कथा पनि चौधरी आफैँले लेखेका छन् ।
चलचित्रमा भास्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बस्यालको पब्लिसिटी डिजाइन छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।