एनआरएनएलाई भिषा रिन्यु गर्ने कुरा हुँदैन, संसदमा कुरा राख्छौ: डा. शेखर कोइराला
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली कांग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य डा शेखर कोइरालाले गैर आवासीय नेपाली नागरिकलाई भिषा लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।
जय नेपाल फाउन्डेशनले नयाँ वर्ष शुभकामना आदान प्रदान शनिवार भर्चुअल मार्फत आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता कोइरालाले एनआरएनएलाई राजनीतिक बाहेक सबै अधिकार दिनु पर्ने बताए।
‘संविधानमा एनआरएनको लागि जे कुरा लेखिएको छ, राजनीति बाहेक सबै सुविधा भिसा रिन्यु गर्ने कुरा हुँदैन। कानून बनेर अगाडी बढ्नु पर्छ । हामी यो कुरा संसदमा राख्छौँ।‘ कोइरालाले भने।
उनले दोहोरो नागरिकता दिएका व्यक्ति पनि नेपाली जनसम्पर्क समितिको सभापति बन्न पाउने तर महाधिवेशन प्रतिनिधि बन्न नपाउने गरी व्यवस्था भएको बताए।
नेता कोइरालाले नेपाली कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता अनुसार नहिँडेको पनि दाबी गरे।
‘हामी अत्यन्तै नाजुक अवस्थाबाट गुज्री रहेका छौँ। नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी त हौँ, तर डेमोक्रेटिक नर्म्स अनुसार हिँडेका छौ कि छैनौ? हामी हिँडेका छैनौ।‘ कोइरालाले भने।
उनले पार्टीको महाधिवेशन अन्योलमा रहेको बताए। ‘हाम्रो प्रयत्न २०८२ को मंसिर भित्र अधिवेशन गर्नु पर्ने हो, चार वर्ष भित्र। आम निर्वाचन पछि, २०८४ पछि कांग्रेसको अधिवेशन गर्ने भनेर पनि आइ रहेको छ। यो कुरालाई कसरी समाधान गर्ने – यो कुरा तपाईंहरुलाई नै छाडी दिन्छु।‘
उनले पार्टी तदर्थ वादमा चलेको पनि आरोप लगाए। ‘भ्रातृ संस्थाहरूको अधिवेशन हुन् नसकेको वर्षौँ भयो। तदर्थ वादमा पार्टी चली रहेको छ।‘ डा. कोइरालाले भने।
उनले सरकारले गति दिन नसकेको र कांग्रेस मूकदर्शक भएको बताए।
‘दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनायौँ। कांग्रेस र माओवादी मिलेर चुनाव लड्यौँ, एमाले र माओवादी, कांग्रेस र माओवादी , एमाले र कांग्रेसको सरकार बन्यो। भ्रष्ट्राचार न्यूनीकरण गर्ने, सुशासन दिने, कानूनको शासन स्थापना गर्ने भनियो तर नौ महिनामा यी कुनै पनि कुरामा यो सरकार अगाडी बढ्न सकेको छैन। नेपाली कांग्रेस मूकदर्शक बनेर बसेको देखिन्छ।‘
नेता कोइरालाले सडकमा देखिएको आक्रोसलाई राजाको उक्साहटमा मात्र भएको भन्न नमिल्ने बताए।
‘अहिले सडकमा जुन आक्रोश देखिएको छ। धेरै नेताहरू राजाको उक्साहटमा भै रहेको भन्ने छ, तर त्यो सोचाइ पुरै ठिक हो भन्न म सक्दिन।‘ कोइरालाले भने, ‘गएको ९ महिनामा संविधान संशोधन, न भ्रष्टाचार, न आर्थिक विकासका कुरा लाई अगाडी बढाउन् सक्यौँ, केही कुरा पनि भएन।‘
‘युवाहरू किन सडकमा आक्रोश पोखी रहेका छन्। उनीहरू लाई राजनीतिक दलहरू प्रति वितृष्णा उत्पन्न गरिदिएको छ। उनीहरू लाई शान्त पार्ने उपाय हामी गर्न सक्छौँ, तर त्यसको पहल सरकारले गर्नु पर्यो।‘ कोइरालाले भने।
उनले सडकको आक्रोशमा ‘विश्व व्यापार युद्ध’ थपिएको बताए।
‘हाम्रै छिमेकमा उथलपुथल देखिएको छ। यसमा गम्भीर रूपले सोचेर जानु पर्ने अवस्था छ। आज सडकमा शिक्षकहरू छन्, सहकारी पीडित, लघु वित्त पीडितहरू, रेजिडेन्ट डाक्टरहरू पनि सडकमा छन्। यसलाई सम्बोधन गर्न सकेनौँ भने स्थिति हाम्रो हात बाट बाहिर जान सक्छ।‘
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले विदेशमा बस्ने साथीहरू बढी चिन्तित भएको आफूले पाएको बताए।
‘नयाँ वर्ष भनेको क्यालेन्डर परिवर्तन मात्रै हैन। नयन यात्रा र नयाँ सङ्कल्पको सुरुवात पनि हो। कहाँ कहाँ हामी चुकेका छौँ, सिंहावलोकन गरेर जाऊँ।‘ नेता केसीले भने, ‘विदेशमा बसेका साथीहरू हामी भन्दा बढी चिन्तित पाएको छु। लोकतन्त्र र प्रजातन्त्र दुवै शब्दमा मलाई आपत्ति छैन। विश्वको परिवेशबाट हेर्दा हामी कुन अवस्थामा छौँ।‘
अहिलेको जस्तो नकारात्मक अवस्था कहिल्यै नभएको बताए।
‘राष्ट्रिय परिस्थिति अत्यन्त जटिल छ। जनतामा व्याप्त निराशाले निकास खोजेको छ। अहिले जति नकारात्मक स्थिति कहिल्यै थिएन।‘ उनले भने, ‘हामी नयाँ कार्यक्रम र दृष्टिकोण लिएर अगाडी बढ्न सकेनौ भने असङ्गठित अराजकता तर्फ जान सक्ने खतरा छ।‘
उनले बालेन, हर्क , भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, दण्ड हीनता लाई एकमुष्ट सम्बोधन गर्न सक्छौ कि सक्दैनौ भन्ने प्रश्न गरे।
‘अहिलेको चुनौती त्यही नै हो। कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ। दुवै छिमेकी सँग सन्तुलन गर्न सक्ने शक्ति नेपाली कांग्रेस हो तर पहिले कांग्रेस भित्रै सुधार गर्नु पर्ने आवश्यकता छ।‘ केसीले भने।
उनले हरेक दिन हजारौँ युवा विदेश गैरहेको, देश दक्षिण पन्थी र कम्युनिस्टहरूको चेपुवामा परेको दाबी गरे।
केसीले पूर्व प्रधान न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग बनाएर छानबिन भ्रष्ट्राचारको छानबिन गर्न दिए २५ प्रतिशत निराशा कम हुने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदले पार्टी अहिले चुनौती पूर्ण अवस्थामा रहेको बताए। उनले गठबन्धनका बारेमा नेपाली जनतामा अन्योल रहेको समेत दाबी गरे।
‘अस्थिरताको सन्देश दिएको छ। संविधान संशोधन गरेर हामीले नेपाली जनताका समस्यालाई सम्बोधन गर्न सक्छौ कि भन्ने हो। तर स्थिरताको सन्देश दिन सकी रहेका छैनौ।‘ नेता साउदले भने, ‘कांग्रेस र एमाले बीच सात बुँदे सहमति लागू भै रहेको छैन।‘
पूर्व परराष्ट्र मन्त्री साउदले गैर आवासीय नेपालीले पनि भूमिका निर्वाह गर्नु पर्ने अवस्था रहेको बताए।
उनले एक्लै आफ्नो बुतामा चुनाव लडेर बहुमत प्राप्त गर्न पार्टीलाई बलियो बनाउनु पर्ने, कार्यकर्ताहरूको योगदानको आधारमा मूल्याङ्कन गर्नु पर्ने र भातृ संस्थाहरूको समय मै अधिवेशन गर्नु पर्नेमा जोड दिए।
नेता साउदले एनआरएन नागरिकता कार्यान्वयनमा ल्याउन तुरुन्त सम्बोधन गर्नु पर्नेमा जोड दिए।
युवा नेता गुरुराज घिमिरेले कांग्रेस अहिले औषत दलमा परिणत भएको बताए।
‘नेपालको लोकतन्त्र सुद्रिध हुने तर्फ अग्रसर होस्। उज्जैनबाट प्रारम्भ भएको विक्रम संवत् अपनाएका छौँ।‘ घिमिरेले भने, ‘नेपाली समाजले आर्थिक फड्को मार्न सकेन। दल भित्र र दलहरू भित्र एकता देखिएन। ७६१ सरकारले उत्साहजनक काम गर्न सकी रहेका छैनन्। कांग्रेसले अभिभावकीय भूमिका नेतृत्व निर्वाह गर्नु पर्छ।‘
घिमिरेले कांग्रेस सत्तामा मात्रै केन्द्रित भएको, नयाँ पुस्ता निराश देखिएको र विदेशिइरहेको बताए।
यस्तै कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्र राज शर्माले कांग्रेस आफ्नो विरासतमा फर्कने काम गर्नु पर्नेमा जोड दिए।
‘विगतमा जो आन्दोलन गर्यौँ, त्यति बेला हामी सँग विरासत थियौँ, त्यसलाई हामीले छोडेका छौँ। प्रजातन्त्र र लोकतन्त्र कदापि एक हुन् सक्दैनन्।‘ शर्माले भने, ‘कम्युनिष्टका नारा र सिद्धान्त अङ्गीकार गरेको हुनाले कुनै पनि परिणाम जनता लाई दिन सकेका छैनौ। आज हामी सत्तामा भए पनि परिणाम दिन सकेका छैनौँ।‘
शर्माले धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रतामा जाने प्रस्ताव गरे।
कार्यक्रमका सभापति समेत रहेका फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले संस्थाको परिचय र गतिविधि बारे जानकारी दिएका थिए।
महासचिव, युथ नेटवर्क फाउन्डेशनका महासचिव नवराज न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महिला सञ्जाल संयोजक विनीता अधिकारीले कविता सहित शुभकामना दिएकी थिएन्।
फाउन्डेशन अन्तर्गत ग्लोबल युथ नेटवर्कका संयोजक मदन राज पौडेलले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा पत्रकार भगीरथ योगीले सबै सहभागीहरूलाई धन्यवाद दिएका थिए।
कार्यक्रमको दोश्रो चरणमा कार्यक्रममा सहभागी सबैका बीचमा शुभकामना आदानप्रदान गरिएको थियो ।