तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित
न्यु योर्क/ नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् ।
काजललाई न्यु योर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले नगद र सम्मान पत्र सहित सम्मान गरेको हो। च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएका संचालक तथा मुख्य प्रशिक्षक ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासिफिक सितोरियो करातेका स्वर्णधारी सुनिल लामा हुन्।
प्रशिक्षक लामाका अनुसार काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय अमेरिकी डलर गरी कुल ४ सय अमेरिकी डलर (५५ हजार नेपाली रुपैयाँ), सम्मान पत्र र क्लबको टिसर्ट प्रदान गरिएको छ । क्लबले आफ्नै एकेडेमीमा स्वागत गर्दै उनलाई सम्मानित गरेको हो ।
काजल अमेरिकाको टेक्कासमा भएको डल्लास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न अमेरिका आएकी हुन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी थिइन् । त्यसयता उनले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भूमिका निभाइसकेकी छिन् । उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकी थिइन् ।
एक दशक लामो खेलाडी करिअरपछि रेफ्रीको भूमिकामा देखिन थालेकी उनी ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन् ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ । यस्तै क्लबले सामाजिक कार्य र विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ ।