रायमाझी दम्पती द्वारा आर्थिक कठिनाइ भोगेका तीन बालबालिकाको शिक्षामा सहयोग गर्ने प्रतिज्ञा

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ डा. वर्षा मोक्तान रायमाझी र उनका श्रीमान् अभश्य जङ्ग रायमाझीले नेपालमा आर्थिक कठिनाइ भोगेका तीन बालबालिकाको शिक्षामा सहयोग गर्ने प्रतिज्ञा गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको पूर्व युवा संयोजक समेत रहेकी चिकित्सक वर्षा र अमेरिकामा जनस्वास्थ्यमा पिएचडी गर्दै गरेका उनीका पति अभश्य जङ्गले अभिभावक गुमाएका आर्थिक कठिनाइ भोगिरहेका तीन बालबालिकाको शिक्षालाई निरन्तर सहयोग गर्ने प्रतिज्ञा गरेका हुन्।
उनीहरूले आफ्नै व्यक्तिगत स्रोतहरू प्रयोग गरी ती बालबालिकाको वार्षिक खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ती बालबालिकाहरू नवलपरासीको देव चुली नौ विसालटारमा रहेको श्री कालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्।
‘उनीहरुले अध्ययन गर्दा सम्म हामी हरेक वर्ष सहयोग गर्छौ।’ समाज टाइम्स सँग अभश्य जङ्गले भने, ‘भर्खरै मात्र अभिभावक गुमाएका बालबालिका हुन्, अहिले अन्योलको अवस्थामा नजिकका आफन्तकोमा अस्थायी बसोबास गरेका छन्।’
अभश्य जङ्गका अनुसार दुई कक्षामा अध्ययन गर्ने दुई दाजुभाइले भर्खरै मात्र आमा र बाबा दुवै गुमाएका छन्। यस्तै आठ कक्षामा अध्ययनरत छात्राको पनि हालै मात्र आमाको निधन भएको र बाबुले पनि छोडेको जनाइएको छ।

‘अहिले भर्खर नै अभिभावक गुमाएकाले अहिले हामी व्यक्तिगत सहयोग गरेका छौ, अब ट्रान्फरमेटिक एक्सन इम्प्याक्ट (टिएआइ) मार्फत संस्थागत रुपमा कसरी गर्ने भन्नेमा विद्यालय र देव चुली नगरपालिका सँग सहमति गरेर काम गर्छौ।’ उनले भने।
टिएआइ दिगो परिवर्तनमा ध्यान केन्द्रित गर्दै विशेष गरी सीमान्तकृत र उपेक्षित समुदायहरूको उत्थानमा काम गर्दछ। अभश्य जङ्ग टिएआइका संस्थापक अध्यक्ष हुन्।
रायमाझी जोडी यस अगाडी पनि परोपकारी कार्यमा सक्रिय रदै आएको छ। यसअघि उनीहरुले फिलिपिन्सलगायत विभिन्न मुलुकका अपाङ्गता भएका बालबालिकाहरूलाई प्रायोजन गरिसकेका छन्। त्यस्तै, वर्षा मोक्तान रायमाझीका पिता विनोद मोक्ताको जन्मथलो सिन्धुपाल्चोक जिल्लाका बालबालिकाहरूलाई समेत उनीहरूले शैक्षिक सहयोग प्रदान गरिरहेका छन्। हालै उनीहरूले नवलपरासी (पूर्व) क्षेत्रको भ्रमण गर्दै त्यहाँका स्थानीय बालबालिकाहरूको वर्तमान शिक्षा स्थिति अध्ययन गरी थप प्रभावकारी परिवर्तनको योजना अघि बढाएका छन्।
स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ताका रूपमा, वर्षा मोक्तान रायमाझी र अभश्य जङ्ग रायमाझीले शिक्षाको क्षेत्रमा दिगो सुधारका लागि आगामी दिनमा थप सहकार्य गर्ने गहिरो रुचि व्यक्त गरेका छन्।
‘हाम्रो प्रमुख लक्ष्य भनेको स्थानीय बालबालिकाहरूको हितमा प्रभावकारी, व्यवस्थित तथा संरचित शिक्षण प्रणाली निर्माण गर्नु हो।’ अभश्य जङ्गले भने।