करेन्ट प्रवाह हुँदा टिपरमा क्षति, चालक घाइते
काठमाडौँ । बिजुलीको उच्च करेन्ट प्रवाह हुँदा टिपरमा क्षति हुनका साथै एक जना घाइते भएका छन् ।
वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित एक क्रशर उद्योगमा ११ हजार भोल्टको हाइटेन्शन तारको करेन्ट प्रवाह हुँदा टिपरको अघिल्लो भागमा क्षति पुगेको छ ।
टिपर चालक भने गम्भीर घाइते भएका छन्। विद्युत प्रवाहको कारण टिपरमा आगलागी भई पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार घटनामा चालक जयप्रकाश सहनी गम्भीर घाइते भएका छन् ।
उनलाई तत्कालै गरुडास्थित एक निजी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई वीरगन्ज पठाइएको उनले जानकारी दिए ।
बिहीबार बिहान ८ बजे लु १ त २८४९ नम्बरको टिपरबाट बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारको चपेटामा परेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।