मेयर बालेनमाथि सामाजिक सञ्जालमै खनिए एमाले महासचिव पोख्रेल
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमाले विरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ ।
कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो । तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।
जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।












