पेन्सिल्भेनियामा स्वतारा टाउनसीपले दियो तिहार बिदा, समुदायका अगुवाद्वारा स्वागत
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको डाउफिन काउन्टी (जिल्ला) मा रहेको स्वतारा टाउनसीप (नगरपालिका) ले अब देखि तिहारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्वातरा टाउनसीप पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग शहर सँग जोडिएको छ।
नोभेम्बर १३ तारिख बुधवार साँझ बसेको आयुक्तहरूको बोर्ड बैठकले हिन्दु समुदायको प्रख्यात चाड तिहारमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रत्येक महिनाको पहिलो र दोस्रो बुधवार साँझ ७ बजे स्वतारा टाउनसीपको भवनमा सबै आयुक्तहरूको बैठक बस्छ ।
टाउनसीप आयुक्तहरूको बोर्ड बैठकमा अध्यक्ष शैला एलिसले तिहार बिदा दिने प्रस्ताव पेश गरेकी थिइन्।
अध्यक्ष एलिसको प्रस्तावलाई बोर्डका सबै आयुक्तहरूले समर्थन गरेका थिए।
स्वातरा टाउनसीपको निर्णयलाई नेपाली भाषी भुटानी समुदायका नेताहरूले स्वागत गरेका छन्।
भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाका अनुसार अब देखि हरेक वर्षको शुरुमा तिहारको तिथिबारेमा टाउनसीपलाई जानकारी गराइने छ।
बीसीएच अध्यक्ष निरौलाका अनुसार सेन्टर पेन्सिल्भेनियामा ४५ हजार भन्दा धेरै नेपाली भाषीहरू छन्। त्यस्तै स्वतारा टाउनसीपमा मात्र पाँच हजार भन्दा धेरै नेपाली भाषीको बसाई छ त्यसमा नेपाली भाषी भुटानी समुदायको संख्या अत्यधिक छ।
अमेरिकामा राष्ट्रपति कार्यालयमा पनि तिहारको समयमा दीपावली गर्ने गरिन्छ। यस्तै पछिल्ला केही वर्षयता पेन्सिल्भेनिया गभर्नरको कार्यालयले पनि तिहारमा रात्रि भोजको व्यवस्था गर्दै आएको छ।















