जो बाइडन र डोनाल्ड ट्रम्पबी ह्वाइटहाउसमा भेटवार्ता

पेन्सिल्भेनिया । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
बुधवार भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका बेला बाइडेन र ट्रम्प बीच एक पटक भेट भएको थियो । उक्त चुनावी बहमा बाइडेन पछि परेपछि उनले राष्ट्रपतिको चुनावी अभियान त्याग्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका थिए । अन्तत: ट्रम्पले नै चुनावमा बाजी मारे ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए ।
ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाई छ । छलफल सौहार्दपूर्ण र फलदायी भएको उनको टिप्पणी छ ।

नव निर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ ।

नोेभेम्बर ५ मा भएको निर्वाचनबाट निर्वाचित ट्रम्पले जनवरी २० मा सत्ता सम्हाल्ने छन् ।