६ महिनाभित्र एनआरएनएको एकताको अधिवेशन हुनुपर्छ : परराष्ट्र मन्त्री राणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको महाधिवेशनबारे परराष्ट्रमन्त्री आरजु राणा देउवाले बैठकमा ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने बताएकी छिन्।
सर्वोच्च अदालतको चैत २१ गतेको फैसला र मन्त्रालयले कात्तिक १ मा गरेको पत्राचारअनुसार यो महाधिवेशन आवश्यक रहेको उल्लेख गरिएको छ। राणाले एनआरएनएको एकता देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको भन्दै गैरआवासीय नेपालीहरू बीच सहकार्यले आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताइन्।
पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिसँग भएको बैठकमा घलेले सर्वोच्चको आदेशअनुसार महाधिवेशन गर्न आफू तयार रहेको बताएका छन्। साथै, संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि एकताको समर्थन गर्दै यसका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन्। बैठकमा समितिका सदस्यहरूले विभिन्न विचार प्रस्तुत गरे।
सर्वोच्च अदालतले २०७ माघ १ को अवस्थाबाट प्रक्रिया सुरु गर्दै ६ महिनाभित्र महाधिवेशन गर्न आदेश दिएको थियो। तीन समूहमा विभाजित एनआरएनएलाई एकताबद्ध गरेर महाधिवेशन गराउनु चुनौतीपूर्ण हुने देखिन्छ, र यसका लागि परराष्ट्र मन्त्रालयले सक्रियता देखाएको छ।