जलवायु परिवर्तनले महिला र बालबालिकामा गहिरो असर

काठमाडौं। जलवायु परिवर्तनले महिला र बालबालिकामा गम्भीर प्रभाव पारिरहेको विषयमा जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको अन्तर्राष्ट्रिय महिला विभागद्वारा आयोजित ‘क्लाइमेट चेन्ज एण्ड इट्स इफेक्ट अन वुमेन एण्ड चिल्ड्रेन’ शिर्षकको सत्रमा सहभागी वक्ताहरूले ग्रामीण र निम्न आय भएका समुदायका महिला र बालबालिकामा जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे चर्चा गरे। मौसमीय आपदाहरूका कारण महिलाको घरेलु कार्य र बालबालिकाको स्वास्थ्यमा जोखिम बढेकोमा उनीहरूले चिन्ता व्यक्त गरे। जलवायु परिवर्तनसँग जुध्न महिला नेतृत्वलाई सशक्त बनाउन र नीतिगत परिवर्तनको आवश्यकतालाई पनि उनीहरूले जोड दिए।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनको जोखिममा रहेका महिला र बालबालिकालाई सम्बोधन हुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा हरेक वर्ष विपद्का कारण महिला र बालबालिका बढी प्रभावित भएको बताए र जोखिम न्यूनीकरणका लागि प्रभावकारी नीतिहरू संसदमा लैजाने बताए। साथै, उनले आगामी कोप सम्मेलनमा जलवायु परिवर्तनले लैङ्गिक हिसाबले महिला र बालबालिकामा पारेको असर र त्यसको न्यूनीकरणका प्रयासलाई प्रमुखताका साथ उठाउने बताउँदै, क्षतिपूर्तिका लागि पनि आवाज उठाइने बताए।
उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनको असर ग्रामीण क्षेत्रमा बढी देखिएको र स्थानीयस्तरमा यससँग जुध्न पूर्वतयारी आवश्यक रहेको बताइन्। उनले अरब राष्ट्रबाट पाउने अनुदानलाई व्यवहारिक रूपमा जलवायु परिवर्तनले प्रभावित भएका व्यक्तिहरूलाई सहयोग पुर्याउनुपर्ने धारणा राखिन्।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले जलवायु परिवर्तनले समाजको सबै क्षेत्रमा असर गरे पनि महिला र बालबालिका बढी प्रभावित भएको उल्लेख गरिन्। जलवायु परिवर्तनलाई सम्बोधन गर्ने तयारीको अभाव रहेको र राज्यले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन्।
पूर्वमन्त्री विमला राई पौड्यालले जलवायु परिवर्तनको समस्या वैश्विक भए पनि यसको असर स्थानीयस्तरमा देखिने बताउँदै यसले नेपालको जीडिपीमा गम्भीर असर पुर्याउने चेतावनी दिइन्। उनले जलवायु परिवर्तनले ल्याएका चुनौतीहरू अवसरमा रूपान्तरण गर्नुपर्ने विचार राखिन्।
सत्रमा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जलवायु परिवर्तनले विकासउन्मुख मुलुकमा विशेष गरी महिला र बालबालिकामा ठूलो असर गरेको बताइन्। मानव अधिकार आयोगका सदस्य लिली थापाले संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार २०२५ पछि जलवायु परिवर्तनको प्रभाव अझ गहिरो हुने र यसले खाद्यान्न अभाव तथा भोकमरीका कारण महिलालाई प्रत्यक्ष प्रभावित गर्ने बताइन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला उपाध्यक्ष रोजिना प्रधानले जलवायु परिवर्तनले समाजका कमजोर वर्गहरूलाई थप संकटमा पारेको र यसविरुद्ध तत्काल कदम चाल्न जरुरी रहेको बताइन्। उनले विकसित राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्ने र यसका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउन एनआरएनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइन्।