सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: कमला ह्यारिस

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया। अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन्।
जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताइन्।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा पहिलो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। ह्यारिसले अमेरिकी जनताले आफूलाई सामना गर्ने चुनौतिहरूको सामना गर्न सक्षम राष्ट्रपति चाहेको बताइन्। उनले ट्रम्पलाई जनताको मौलिक स्वतन्त्रता खोसेको आरोप समेत लगाइन्।
भोटिंगमा लैङ्गिक अन्तरको मुद्दामा सोधिएको प्रश्नको जवाफमा, ह्यारिसले भनिन्, “म तपाईंसँग इमानदार हुनुपर्दछ, पुरुष र महिला दुबैले हाम्रो लोकतान्त्रिक भविष्यको बारेमा समान मात्रामा आफ्नो चिन्ता व्यक्त गरिरहेको मैले देखिरहेको छु। उनीहरू देशले सामना गर्ने चुनौतिहरूको सामना गर्न सक्षम राष्ट्रपति चाहन्छन्। त्यसैले, मैले वास्तवमा त्यस्तो असमानता देख्दिनँ, र म सबै अमेरिकीहरूले चाहेको राष्ट्रपति बन्न चाहन्छु।”
उनले सीमा मुद्दाबारे कुरा गर्दै अमेरिकी सीमा सुरक्षाको सुनिश्चितता आफ्नो सर्वोच्च प्राथमिकता भएको बताइन्।
अभियान अधिकारीहरूका अनुसार, ह्यारिस शनिबार पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग मिशिगनमा उपस्थित हुने तयारीमा छिन्। पूर्व राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले जुलाईमा ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रूपमा समर्थन गरेका थिए।