सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित: प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पहिलो सय दिनलाई भ्रष्टाचारको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।
बुधवार विहान नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकार गठनसँगै उनीहरूले व्यक्त गरेका शंकाहरू सही साबित भएको बताए।
अध्यक्ष प्रचण्डले भने, “सरकारको सय दिन पूरा भएको छ, र यो अवधिमा सरकारले आफ्ना कामहरूमा असफलता देखाएको छ। यसबाट विपक्षी दल, नागरिक समाज, र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाएका छन्, जसले सरकारको प्राथमिकतामा चुकिएको स्पष्ट गर्छ।”
उनले उद्योगहरुको बक्यौता उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउने प्रयासदेखि, सामान्य प्राविधिक त्रुटिका कारण उपसभामुखलाई हटाउन खोजेको घटनालाई सरकारको भ्रष्टाचारी प्रवृत्तिको प्रमाणका रूपमा प्रस्तुत गरे।
त्यस्तै, प्रधानमन्त्री नेतृत्वको दलले विवादित व्यवसायीबाट जग्गा दान लिएको प्रसंगलाई पनि उल्लेख गर्दै, यसले सरकार भ्रष्टाचारको पक्षमा रहेको पुष्टि भएको टिप्पणी गरे।
प्रचण्डले पाँच विपक्षी दलहरूले सरकारका गलत क्रियाकलापलाई रोक्न ज्ञापनपत्र बुझाइसकेको र राष्ट्रपतिसँग भेटेर पनि ध्यानाकर्षण गराउने योजना बनाएको बताताए । साथै, माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए।
उनले बुद्धिजीवी संगठनलाई पार्टीको पक्षमा भूमिका बढाउन आग्रह गर्दै, देशव्यापी रुपमा पार्टीको समर्थन बढ्दै गएको पनि बताए।
प्रचण्डले सरकारलाई भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउँदै, सरकारका असफलताप्रति सडक आन्दोलन गर्ने योजना बनाएका छन्।