अस्ट्रेलियामा तेक्वान्दोकी अञ्जलीलाई स्वर्ण

काठमाडौँ / नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन् ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी तौल समूहमा स्वर्ण जितेको गोर्खा तेक्वान्दोका प्रशिक्षक उज्ज्वल गुरागाईँले जानकारी दिए ।
भिक्टोरियास्थित क्रेगबर्न स्पोर्टस स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२–३ स्कोरले हराइन् । त्यसअघि उनले पहिलो चरणमा नेपालकै सन्ध्या सिंहबाट बाई पाएकी थिइन् ।
सेमिफाइनलमा पनि उनले अस्ट्रेलियाकै इसाबेल पाभियालाई १५–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।
नेपाल आर्मीका पूर्व खेलाडीसमेत रहेका प्रशिक्षक गुरागाईँले यसै प्रतियोगिताका लागि अञ्जलीले धेरै मिहेनत गर्दै उत्कृष्ट प्रदर्शन गरेको बताए ।
अञ्जलीले लामो समयदेखि ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आइरहेकी छन् ।
उनले चीनमा सम्पन्न १९औँ एसियन गेम्समा पनि यसै तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उक्त एसियन गेम्समा अञ्जलीले एक फाइट समेत जितेकी थिइन् । तर, अन्तिम आठमा भने उनी थाइल्यान्डकी पानिपाक वाङफातानकितसँग पराजित भइन् । पानिपाकले सोही एसियाडमा स्वर्ण पदक पनि जितेकी थिइन् ।