रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार, लामिछानेले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरी अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
यसमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई र पूर्व डीआईजी छविलाल जोशी पनि संलग्न रहेको बताइएको छ।
असोज ६ गते पूर्व डीआईजी जोशीलाई पनि यही आरोपमा पक्राउ गरिएको थियो, र उनको बयान प्रहरीले लिइसकेको छ।
संसदीय छानबिन समितिका अनुसार, गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीहरूबाट ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले आएको थियो।
लामिछाने २०७९ सालसम्म गोर्खा मिडियाका निर्देशक रहेका थिए र सो रकमको प्रयोग गरेका थिए।
अनुसन्धानका क्रममा पूर्व डीआईजी जोशी २०७८ मा र लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएको पाइएको छ।
तर, उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध रुपमा ल्याइएको प्रहरीको भनाइ छ।