प्रहरीले प्रर्दशनकारीमाथी जुन दुर्व्यवहार गरे त्यो सह्य थिएन: अजयबाबु शिवाकोटी

ऐक्यबद्वताका लागि आभार
दोलखामा परिवार र पार्टीका साथीहरुसँग दशैं मनाएर मंगलवार विहानैदेखि काठमाडौंमा मान्यजनकहाँ टीका ग्रहण गरि साँझ बालाजु घर फर्कने क्रममा बालुवाटार पुग्दा प्रधानमन्त्रीको सरकारी आवासको ३नं ढोका अगाडी केहि महिलाहरु न्याय चाहियो भन्दै नारा लगाइरहेको र दुई जना युवकहरु उनीहरूसँगै रहेर दृश्य र तस्विर खिचिरहेको अवस्थामा प्रहरीले निषेधित क्षेत्र अवज्ञा गरेको आरोपमा नियन्त्रणमा लिन लागिरहेको थियो।
तर नियन्त्रणमा लिदा घाँटी थिच्ने, मुख थुन्ने जुन व्यवहार भएको थियो त्यो गाडीबाट हेर्न नसकि झरेर प्रहरीलाई न्यूनतम मानवअधिकारको पालना गरेर नियन्त्रणमा लिन आग्रह गर्दा उल्टै प्रहरीले दुर्व्यवहार गरि अन्य प्रर्दशनकारीसँगै मलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त मालीगाउँमा पुर्याएको थियो।
मालिगाउँ वृत्तमा पुगेपछि थाहा भयो प्रहरीले धरपकड गरेका प्रर्दशनकारीहरुमा लामो समयदेखि आन्दोलनरत अधिकारकर्मीहरु रुवि खान, लक्ष्मण श्रेष्ठ, गिता चमार, ललिता थारु, बानी चमार, विजयबाबु शिवाकोटी हुनुहुँदो रहेछ।
म प्रहरी दुर्व्यवहारको विरोधका लागि गाडीबाट ओर्लेको थिए तर अन्जानमै भएपनि न्यायका गुहार लगाउँदै लडिरहेका अधिकारकर्मीका लागि ऐक्यबद्धता जनाउन पुगेको रहेछु।
मालिगाउँ वृत्तमा पुगेपछि नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएको परिचय खुलेपछि तत्काल रिहा गर्न प्रहरीले खोजेपनि मैले पक्राउ परेका सबैलाई रिहा गरेपछि मात्रै रिहाइ हुन्छु भनेपछि सबैको स्वास्थ्य परिक्षण गरेर पक्राउ गरेको करिब ३ घण्टा पछि म सहित सबैलाई रिहाइ गरिएको छ।
पक्राउ परेको सूचना पाए लगत्तै चासो राखि सोधखोजसँगै रिहाइको लागि दिनुभएको दबाब र देखाउनुभएको ऐक्यबद्धताका लागि सबै शुभेच्छुक, शुभचिन्तकप्रति आभारी छु।
मिडियाका साथीहरुले समाचार सम्प्रेषण गरि देखाउनु भएको तत्परताको लागि आभार व्यक्त गर्दछु। नेपाल प्रहरी आफ्नो स्थापनाको ६९ औं स्थापना दिवस मनाउँदै छ। यति लामो इतिहास बोकेको संस्थाका अधिकारीहरुले प्रदर्शन नियन्त्रण गर्ने नाममा ५ जना प्रर्दशनकारीमाथी जुन दुर्व्यवहार गरे त्यो सह्य थिएन। त्यो दुर्व्यवहारको तस्विर र दृश्य सार्वजनिक नहोस भनेर मोबाइल नियन्त्रणमा लिइ स्थायी रुपमै मेटाउन लगाउने कार्य प्रहरीले गरेको अर्को ज्यादती थियो भने बृत्तमा पुर्याइसकेपछि पनि अधिकारकर्मीमाथी हातपात गर्ने कार्य अझ निन्दनीय थियो ।
यो सबै कुराको जानकारी पार्टी नेतृत्व र गृह प्रशासनको नेतृत्वलाई गराएको छु। आशा छ गृहमन्त्री रमेश लेखक भएको समयमा पुलिसको व्यवहार मानवोचित हुनेगरि सुधारिने छ। पार्टीको केन्द्रीय सदस्यको हैसियतमा हैन एक आम नागरिक भएर प्रहरीको मानवोचित व्यवहारको अपेक्षा गरेको हुँ। हर नागरिकले प्रहरीसँग गर्ने सामान्य अपेक्षा पनि यहि हो जस्तो लाग्छ।
आफ्नो स्थापना दिवसको अवसरमा प्रहरी जनताको यस्ता सामान्य अपेक्षामा खरो उत्रन सकोस शुभकामना। साथै अधिकारकर्मीहरूले राखेको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सम्बोधनका लागि पहल गर्न सम्बन्धित सबै पक्षसँग माग गर्दछु। धन्यवाद। जय नेपाल।
तपाईकै साथी
अजयबाबु शिवाकोटी
केन्द्रीय सदस्य,
नेपाली कांग्रेस