इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ध्वस्त

काठमाडौैं। इजरायली हवाई आक्रमणले लेबनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित एक मस्जिदलाई पूर्ण रूपमा ध्वस्त पारेको छ। पछिल्लो समय इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको जनाएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार, स्थानीय समयअनुसार आइतबार बिहान ३:४५ बजे इजरायली लडाकू विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको मस्जिदलाई लक्षित गर्दै हवाई आक्रमण गर्यो।
कफर टिबनिटका मेयर फुआद यासिनले उक्त मस्जिदको विनाससँगै गाउँका मानिसहरूले एकताको केन्द्र गुमाएको बताएका छन्। उनले भने, “एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पूजा पाठ गर्थे।”
गाजा युद्धसँग सम्बन्धित घटनाक्रमका कारण इजरायल र हिज्बोल्लाह बीच सीमापार आक्रमणले पूर्ण द्वन्द्वको रूप लिएको छ।
लेबनानका अधिकारीहरूले इजरायलको निरन्तर आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिइसकेको र दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन्।