बाढी पहिरो पछि नेपालमा ३ दिन राष्ट्रिय शोक घोषणा
काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
बाढी, पहिरो र डुबानबाट दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिएका छन्।
त्यसैगरी, सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा उक्त कोषमा दिने निर्णय पनि गरेको छ।
मन्त्री गुरुङले अवरुद्ध सडकहरूको तत्काल मर्मत तथा सञ्चालन गर्ने, महंगी र कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय पनि भएको जानकारी दिए।
असोज १० गतेदेखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ।








