परराष्ट्रमन्त्री राणाद्वारा कोरियालाई नेपालमा थप लगानी गर्न आग्रह
न्यु योर्क। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन्।
दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँगको भेटमा, नेपाल–कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको थियो। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि पनि कुराकानी गरिएको थियो। यस अवसरमा, दुवै देशले मनाइरहेको नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको बारेमा पनि चर्चा गरिएको थियो।
परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणको प्रस्ताव गर्दै कोरियाली राष्ट्रपति लाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन्। साथै, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी र छात्रवृत्तिका लागि दक्षिण कोरिया सरकारलाई धन्यवाद ज्ञापन गर्दै उनले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा रहेको सहयोगको सराहना गरिन्।
मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानी गर्न पनि आग्रह गरिन्। अघिल्लो आर्थिक वर्षमा, नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्बको लगानी आएको थियो।
त्यसपछि, मन्त्री देउवाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्दै आपसी हित र भविष्यका सहकार्यका विषयमा कुराकानी गरिन्। फिलिपिन्ससँग संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद् र सुरक्षा परिषद्मा नेपाललाई सहयोग गर्न अनुरोध गरेको जनाइएको छ।