समावेशी र समानुपातिकलाई बलियो बनाउँ : सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।
संविधान दिवसको अवसरमा कांग्रेस महिला विभागले आइतबार आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेसले समाजको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने औंल्याए।
देउवाले भने, “कसैको बहुमत आउन नसक्ने अवस्थामा पनि हामी कुनै हालतमा मुलुकको समावेशी समानुपातिक प्रणालीबाट पछि हट्न सक्दैनौं।” उनले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने तयारी गर्नुपर्नेमा पनि जोड दिएका छन्।
कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि समावेशी समानुपातिक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने आवश्यकता व्यक्त गरे।
उनले एमाले–कांग्रेसको साझा न्यूनतम कार्यक्रममा वर्तमान व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले संविधान संशोधनको बहस हुने उल्लेख गरे।
थापाले निर्वाचन कानूनलाई समयसापेक्ष बनाउनु पर्ने कुरा पनि उठाए, जसका लागि व्यवस्थीत बहसको आवश्यकतामा जोड दिएका छन्।