निलम्वित जनसम्पर्क समितिलाई कांग्रेसको परिपत्र
काठमाडौं । नेपाली कांग्रेसले भदौ १६ मा सार्वजनिक भएको निर्णय अनुसार निलम्बित भएका अध्यक्षहरुलाई सम्बोधन गर्दै जनसम्पर्क समितिमा पत्राचार गरेको छ । साउन २३ गतेदेखि भदौ १६ गतेसम्म चलेको बैठकले नेपाली कांग्रेसले हाल कायम रहेका सम्पूर्ण जनसम्पर्क समितिका अध्यक्ष, महाधिवेशन प्रतिनिधि, र महासमिति सदस्यहरुको पद निलम्बन गर्ने निर्णय गरेको थियो ।
तर, शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जनसम्पर्क समितिका अध्यक्षहरुलाई सम्बोधन गरेर परिपत्र जारी गरेपछि पछिल्लो निर्णय फुकुवा भएको अर्थ लगाइएको छ । भदौ १६ को निर्णयले विधानको धारा १४ का केही उपधारासँगै गैर–नेपाली नागरिकलाई पनि पार्टी निकट जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारी बन्न पाउँने बाटो खुल्ला गरे पनि पार्टीको महासमिति र महाधिवेशन प्रतिनिधि बन्ने बाटो बन्द गरेको थियो ।
यसअघि नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्व्य विभागका प्रमुख किरणराज पौडेलले उक्त निर्णयबारे पुनर्विचार हुने बताएका थिए । मुख्यसचिवले परिपत्र गरेको विषयमा जिज्ञाषा राख्दा यस विषयमा पार्टीका प्रवक्ता वा प्रचार विभाग प्रमुखसँग कुरा गर्न आग्रह गरे ।
यता, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पछिल्लो निर्णय अनुसार जनसम्पर्क समितिको सभापति बन्न अरुले पनि पाउने तर महाधिवेशन र महासमिति प्रतिनिधि बन्नका लागि नेपाली नागरिक नै हुनु पर्ने ब्यवस्था गरेको बताए । अहिलेको अवस्थामा महाधिवेशन प्रतिनिधि निलम्बन गर्ने कुरा पार्टीले विधान बनाइरहेकाले अब बन्ने विधानले थप प्रष्ट पार्ने जानकारी दिए । नेपाली कांग्रेस भदौ १६ को निर्णयमा प्रष्ट रहेको र भ्रममा नपर्न पनि विश्वकर्माले बताए ।
शुक्रबार गरिएको परिपत्र यस्तो छ ।
नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको श्रवण २३ देखि भाद्र १६ गतेसम्म बसेको बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन, एकरूपता ल्याउन, जनसम्पर्क समितिको सदस्यता, नेतृत्व चयन प्रक्रिया र आवद्धतालाई फराकिलो बनाउन तथा महाधिवेशन तथा महासमितिमा जनसम्पर्क समितिबाट हुने प्रतिनिधित्वलाई थप स्पष्ट बनाउने उद्देश्यले नेपाली काग्रेसको विधानको धारा १४ को उपधारा (३) को केही प्रावधान, (४) (५) २ (६) निलम्बन गर्ने निर्णय गरेको छ । साथै, नेपाली जनसम्पर्क समितिको अध्यक्ष तथा पदाधिकारी नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भए अनुसार नेपाली काग्रेस क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्य मध्येबाट चयन हुनसक्ने गरी अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय पार्टीले गरेको छ ।
अब उप्रान्त नेपाली जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारी चयन गर्दा नेपाली काग्रेसको क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्य मध्येबाट चयन हुनसक्ने स्पष्ट भएको छ । यसले जनसम्पर्क समिति मार्फत विदेशमा रहेका नेपालीलाई जोड्न र संगठनको दायरा फराकिलो बनाउन मद्दत पुग्ने विश्वास नेपाली काग्रेसले लिएको छ ।
जनसम्पर्क समितिको ‘अध्यक्ष’ स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने विधानको व्यवस्था हटाउन विधानमा अध्यक्षसँग जोडिएको महाधिवेशन प्रतिनिधि र महासमिति सम्बन्धी चयन प्रक्रियासँग सम्बन्धित धारा निलम्बन गर्नु परेको हो । यसैगरी अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि नहुने व्यवस्था गर्दा महाधिवेशन प्रतिनिधिको संख्या सम्बन्धी धारा आकर्षित हुने भएकोले यो प्रावधानसँग सम्बन्धित विधानको धारा १४ उपधारा (३), (४), (५), (६) सबै एक अर्कासँग अन्तर सम्बन्धित भएकोले ती प्रावधान समेत तत्कालको लागि निलम्बन भएका हुन् ।
कार्यसमिति अध्यक्ष र पदाधिकारीको लागि क्रियाशील सदस्य नभएको व्यक्ति पनि हुन सक्ने भएपनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनका लागि भने पार्टीको क्रियाशील सदस्य नै हुनुपर्ने र क्रियाशील सदस्य हुन नेपाली नागरिक हुनुपर्ने विधानको सदस्यता सम्बन्धि व्यवस्था विद्यमान नै रहेकोले पार्टी विधान र प्रचलित कानुनलाई मध्येनजर गरी यस बारेमा कुनै अलमलमा नपरी अधिवेशन प्रक्रिया र सांगठनिक गतिविधि अगाडि बढाउन यसै पत्रद्वारा निर्देश गरिन्छ ।
अतः विधान बमोजिम अवधि सकिएका जनसम्पर्क समितिले अधिवेशनबाट विधान बमोजिम कार्यसमिति चयन गर्न यसै परिपत्र मार्फत प्रष्ट गराउँछौं ।
पुनश्चः अधिवेशन प्रक्रिया अगाडि बढाउनका लागि जनसम्पर्क समितिको यथार्थ विवरण (अधिवेशन अवधि, विधान, सदस्यता लगायत) को आवश्यक पर्ने हुँदा यस अघिको परिपत्र बमोजिम विवरण पठाउन छुट भएका जनसम्पर्क समितिले १५ दिनभित्र सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा पठाउनु हुन समेत पुनः निर्देश गरिन्छ । अधिवेशन प्रक्रिया, सदस्यता लगायतका विषयमा त्यस पश्चात पुनः पत्र मार्फत सम्बन्धित जनसम्पर्क समितिलाई विस्तृत जानकारी गराइनेछ ।