‘छोरीलाई जिताउन एक डलर पनि खर्च गरिन्’ : ओम तामाङ
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ द भ्वाइस किड्स नेपाल सिजन ३ की विजेता अनुह्या तामाङका पिता ओम तामाङले छोरीलाई जिताउन आफूले व्यक्तिगत रूपमा एक डलर पनि खर्च नगरेको बताएका छन्।
गायन सम्बन्धी टेलिभिजन सो जितेर नेपालबाट अमेरिका फर्के पछि पेन्सिल्भेनियाको ह्यारिसबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा समाज टाइम्स सँगको कुराकानीमा तामाङले दर्शकहरूको समर्थनले नै आफ्नो छोरीको जित भएको बताए।
तामाङ परिवार पछिल्लो समय पेन्सिल्भेनियाको ह्यारिसबर्गमा बस्दै आएका छन्। नेपालमा हुने कुनै पनि रियालिटी सो मा अमेरिकाबाट गएका अझ नेपाली भाषी भुटानी समुदायका गायक गायिकाले जित्दा डलरले जितेको भनेर व्यङ्ग गर्ने गरिएको छ।
दश वर्षिया अनुह्याका पिता ओमले भने त्यस्तो नहुने बताए। ‘डलर जित्यो भन्दा पनि म के भन्छु भने धेरै पटक मैले भनी सके नानीलाई दर्शकहरूको माया सपोर्ट भोटले नै जितेको हो।’ विमानस्थलमा समाज टाइम्स सँगको कुराकानीमा भने।
‘डलर त मैले अलिकति पनि लगेको थिइन। मेरो एक पैसा पनि खर्च भएको छैन नानीलाई जिताउन, यो सबै तपाईँहरूको सपोर्टले गर्दा हो।’ ओमले अगाडि भने, ‘नानीलाई सपोर्ट भनेको नेपालबाट पनि आएको हो, विश्वभरिबाट आएको हो।’
ओमका अनुसार नेपालमा पोखराबाट सबै भन्दा धेरै भोट आएको थियो। ‘पोखराबाट ठुलो सपोर्ट मिलेको थियो, झापाबाट पनि ठुलो सहयोग मिलेको थियो।’ उनले भने, ‘अन्य ठाउँबाट पनि कलहरू आउँथ्यो, डलरले जित्यो भन्दा पनि मैले सपोर्ट धेरै पाए।’
तीन छोरीका पिता ओमले अनुह्यालाई अब पनि संगितमा नै लाग्न आफूहरूले प्रोत्साहन गर्ने बताए।
‘अब पनि निरन्तरता दिने, संगित कक्षामा गीत संगितमा उसको इच्छा छ।’ ओमले भने, ‘अहिले सम्म चार पाँच वटा रेकडिङ्ग भइसक्यो अझै पनि लाइनमा छ यसैलाई सहयोग गर्ने मेरो काम हो नानीलाई उसको इच्छालाई पुरा गरिदिने हो।’
यसै बिच ओमले छोरी अनुह्याको हालको सफलतामा समाज टाइम्सको समाचारले प्रोत्साहन गरेको बताए।
‘जनवरीमा जब तपाईँले मेरो छोरीको कलालाई बुझेर पत्रिकामा निकालिदिनु भयो त्यस पछि मलाई प्रोत्साहन मिल्यो की नानी केही गर्न सकिन्छ भनेर त्यस पछि डिजिटल अडिसन खुल्यो त्यसमा छनौट हुँदै आज विजेता भएको छ।’ ओमले भने, ‘त्यसमा तपाईँको पनि समाज टाइम्सको पनि ठुलो हात छ भन्न चाहन्छु।’
गत जनवरीमा अनुह्या तामाङ बारेमा समाज टाइम्समा प्रकाशित समाचार

















