अमेरिकामा जन्मिएकी दश बर्सिया अनुह्या तामाङको लक्ष्य: ‘नेपाली सङ्गीत क्षेत्रमा स्टार बन्ने’

ह्यारिसबर्ग/ अनुह्या तामाङका पिता ओम तामाङलाई अहिले पनि त्यो दिन याद छ, जुन दिन अनुह्याले माइक समातेर ‘ओम मणि पद्मे हूँ…’ गुनगुनाएकी थिइन। जुन बेला अनुह्या मात्र तीन वर्षकी थिइन्। त्यस पछि ओम र उनीकी धर्मपत्नी सीताले घर सल्लाह गरे। आफ्ना तीन छोरी मध्ये माहिली अनुह्यालाई गीत सङ्गीतमा नै रम्न दिनु पर्छ।
अनुह्याले पहिलो पटक माइकमा यसरी गाएकी थिइन् …
अमेरिकाको उत्तर पूर्वी राज्य न्यु ह्याम्पशायरमा रहेका ओम र सीताले आफ्नी माहिली छोरीलाई सङ्गीतकर्मी हरिमाया अधिकारी सम्म पुर्याए। सात वर्षकी बालिकालाई हरिमायाले गीत सङ्गीतका कखरा सिकाइन। कर्कट न्यु ह्याम्पशायरमा दुई वर्ष अनुह्याले सङ्गीतको कक्षा लिइन। त्यस पछि अनुह्यालाई सार्वजनिक स्टेजमा उक्लने हिम्मत बढ्यो।
सन् २०२२ मा न्यु ह्याम्पशायरमा नै आयोजना भएको न्यु अमेरिकी गड ट्यालेन्ट अनुह्या प्रथम भइन। (न्यु अमेरिकी गड ट्यालेन्टका बारेमा थप जान्न यहाँ क्लिक गर्नु होला)
दर्जनौँ बालबालिका सहभागी सो प्रतिस्पर्धामा उनी प्रथम भइन। नेपाली भाषामा प्रस्तुति दिने उनी दोस्रो प्रतिस्पर्धी थिइन। बाँकीले अंग्रेजी भाषामा नै गीत गाएका थिए। अनुह्याले ‘तिम्रो मुटुमा मात्र छु…. ‘ बोलको गीत पाएकी थिइन्।
यही गीत गाएर अनुह्या न्यु अमेरिकी गड ट्यालेन्टमा प्रथम भएकी थिइन।
अनुह्याको त्यो सफलताले उनको परिवारलाई पनि उत्साहित बनायो। ओम र सीताले फेरि सल्लाह गरे छोरीका लागि केही गर्नै पर्छ। त्यस पछि न्यु ह्याम्पशारबाट पेन्सिल्भेनिया बसाई सरे। ‘यहाँ अलि बढी गतिविधि हुन्छ।’ छोरीकै लागि आफूहरू बसाई सरेको कारण खुलाउँदै ओमले समाज टाइम्स सँगको कुराकानीमा भने।
पेन्सिल्भेनिया आए पछि अनुह्याले नेपाली गीत सङ्गीतमा थप सिक्ने अवसर पाइन। अहिले उनी इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको सङ्गीत कक्षाको विद्यार्थी पनि हुन्।
सङ्गीतकर्मी मुस्कान बलमपाखी मगरले अनुह्यालाई झन् तिखार्दै छन्। ‘हामीले इन्ट्रा फाउन्डेशनलाई धन्यवाद दिनु पर्छ, छोरीको जुन चाहानाका लागि हामी पेन्सिल्भेनिया सरेका थियौ त्यसमा सहज भएको छ।’ अनुह्याका पिता ओम भन्छन्।
पेन्सिल्भेनिया आए पछि पनि अनुह्याले स्टेजमा प्रस्तुति दिन छोडेकी छैनन्। उनले गत हप्ता मात्र भुटनीज बौद्ध अर्गनाइजेशन (बी.बी.ओ) अन्तर्गत भुटनीज गुरुङ कम्युनिटी ग्रेटर ह्यारिसबर्गले आयोजना गरेको तमु ल्होसारमा दुई वटा गीत गाएकी थिइन।
तमु ल्होसारमा अनुह्याले गाएका गीत
तमु ल्होसारमा अनुह्याले गाएका गीत
त्यस अगाडि डिसेम्बर महिनामा नै अनुह्याले ह्यारिसबर्गमा इन्ट्रा फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा पनि गाएकी थिइन।
वरिष्ठ सङ्गीतकर्मी न्ह्यू बज्राचार्य , कालीप्रसाद बास्कोटा, कृष्ण कँडेल लगायतका हस्तिहरू उपस्थित र खचाखच हलमा अनुह्याले प्रस्तुति दिएकी थिइन। स्टेजमा उक्लँदा अनुह्याको आत्मविश्वास उच्च देखिन्छ।
अनुह्याका सङ्गीत गुरु मुस्कान बलमपाखी मगरले पनि आफ्नी चेलीमा प्रचुर सम्भावना देखेका छन्। ‘उनले राम्रो गर्न सक्छिन्, सम्भावना भएको मान्छे हो।’ समाज टाइम्स सँग मुस्कानले भने। ‘ म सँग आधुनिक शास्त्रीय सङ्गीत सिक्दै आएकी छिन्। नेपाली सुगम सङ्गीतले एउटा राम्रो प्रतिभा पाउँदै छ।’
अमेरिकामा जन्मिएकी अनुह्याले पनि नेपाली गीत सङ्गीतमा आफ्नो भविष्य देखेकी छन्। नेपाली भाषामा नै दोहोरो संवाद गर्ने अनुह्याले नेपालमै गएर गाउने धोको पालेकी छिन्। ‘म पछि पनि गीत गाउने हो।’ समाज टाइम्स सँग उनले भनिन्।
अब उनलाई नेपालमै गएर कुनै प्रतिस्पर्धामा भाग लिनु छ र त्यसमा पनि स्टार बन्नु छ।
पिता ओमका अनुसार अनुह्याले घरमा पनि प्रायशः नारायण गोपाल र अरुणा लामाका गीतहरू गुनगुनाउँछिन्। स्कुलमा पनि उनले सङ्गीत कक्षा लिएकी छिन्।
भुटानमा जन्मिएर झन्डै दुई दशक नेपालमा शरणार्थी शिविर हुँदै अमेरिका आएका ओम र उनीको धर्मपत्नी सीतालाई पनि आफ्नो छोरी कुनै दिन नेपाली सङ्गीतको स्टार भएको हेर्नु छ।
‘हामी खुसी छौ’ छोरीको छनौट प्रति इङ्कित गर्दै ओमले समाज टाइम्स सँग भने,’हाम्रो शतप्रतिशत साथ छ, बच्चाहरू जे मा रमाउँछन् त्यसमा सफल बनाउन हामीले सहयोग गर्ने हो।’