काण्डमा व्यक्तिको अनुहार हेरिनेछैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न दल विशेष वा व्यक्तिको अनुहार नहेर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले व्यक्तिको व्यवहार हेरेर कारबाही गर्ने प्रतिवद्धता जनाए ।
‘कुनै पनि प्रकारका भ्रष्टाचार सम्बन्धमा कुनै पनि दल विशेष हेरिनेछैन । दल विशेष छुट्याउनेछैन । कोही पनि भ्रष्टाचारीको अनुहार हेरिनेछैन । व्यवहार हेरेर कारबाही गरिनेछ,’ ओलीले भने ।
उनले सुशासन कायम गर्ने सरकारको पहिलो प्राथमिकता रहेकाले जुनसुकै काण्डलाई कानुनी दायरामा ल्याइने बताए । ‘भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय हो । सहकारी ठगी, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायत विषयमा आम जनताको चाहना बमोजिम राष्ट्र हितका लागि सुशासन कायम गर्न सरकार प्रष्ट छ । ठूला साना जो भए पनि कानुनी दायरामा ल्याउँछौँ,’ उनले भने
कतिपय विषयमा अदालतमा विचाराधीन रहेकाले सोही बमोजिम सरकारले आफ्नो कदम अगाडि बढाउने ओलीको भनाइ छ । राप्रपा सांसद सिंहले भ्रष्टाचार र सुनलगायतका काण्डका विषयमा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए ।