लाल-समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कार क्याप्टेन विजय लामालाई
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ यस वर्षको लाल-समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कार क्याप्टेन विजय लामालाई प्रदान गरिएको छ।
हाल परिवार सहित अमेरिकाको पेन्सिल्भेनिया बस्दै आएका बहु प्रतिभाशाली लेखक-निर्देशक-सम्पादक, नृत्य निर्देशक तथा तेक्वन्दो प्रशिक्षक विकास घले गुरुङले आफ्ना बाबु (लाल)- आमा (समुन्द्रा) गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन्।
बहु प्रतिभा भएका अग्रज व्यक्तित्वहरूलाई सम्मान र नव युवा हरूलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको संस्थापक तथा संरक्षक विकास घले गुरुङको भनाइ छ।
क्षेत्रीय स्तरबाट सुरु गरिएको पुरस्कार हाल राष्ट्रिय स्तरको बनाइएको जनाइएको छ।
विश्व सङ्गीत दिवसको अवसर पारेर गत शुक्रवार काठमाडौँमा नेपाल साङ्गीतिक सङ्घद्वारा आयोजित कार्यक्रममा नगद २५ हजार सहित पुरस्कार प्रदान गरिएको हो।
क्याप्टेन विजय लामाको यसै वर्ष “गोर्खा वारियर” नामक चलचित्र पनि प्रदर्शनमा आएको थियो ।
सम्मान तथा पुरस्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतीक गुरुङ, गीतकार संविधानविद् भीमार्जुन आचार्य, गायिका, नेत्री,पूर्व समाचार वाचिका, पूर्व राष्ट्रिय खेलाडी कोमल वलि, अग्रज कलाकार,लेखक,निर्देशक,कुशल प्रशासक नीर शाह, जनप्रिय हास्य कलाकार, गायक, समाजसेवी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो।
शुक्रवार नै शिव शङ्कर मानन्धर राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार वरिष्ठ कलाकार-सङगितिकार सी.के रसाइलीलाई प्रदान गरियो।
रत्न शमशेर थापा राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार गीतकार-रचनाकार कालीप्रसाद रिजालले पाए। प्रेम ध्वज प्रधान राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार वरिष्ठ गायिका मिरा राणाले पाइन।
पुष्प नेपाली राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार ओम विक्रम विष्ट , फत्तेमान राज भण्डारी राष्ट्रिय युवा तथा साङगितिक सम्मान तथा पुरस्कार राजेश पायल राईलाई प्रदान गरियो।
शुभबहादुर सुनाम राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार बाध्य बाधक देव राना, राजेश-लक्ष्मी नृत्य गुरु राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार वरिष्ठ नृत्य गुरु भैरव बहादुर थापा र नेपाल साङ्गीतिक संघ राष्ट्रिय साङगितिक सम्मान तथा पुरस्कार सुरेन्द्र श्रेष्ठलाई प्रदान गरियो।















